
काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य मन्त्रालय अन्र्तगतका योजना र कार्यक्रम निर्धारणमा स्वास्थ्य क्षेत्रको वर्तमान चुनौति र जिम्मेवारीलाई नजरअन्दाज गरिएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालय अन्र्तगत विभिन्न शीर्षकको खर्च रकममा १ सय रुपैयाँ कटौतिको प्रस्ताव पेश गर्दै सांसद थापाले मन्त्रालय अन्र्तगतका योजना तर्जुमामा सरकार र सम्बन्धित मन्त्रालयले उचित ध्यान पुर्याउन नसकेको बताए।
सरकारले अघि सारेका मन्त्रालय अन्र्तगतका कार्यक्रमबाट स्वास्थ्य मन्त्रालयको चुनौति र जिम्मेवारी हेक्का नरहेको स्पष्ट भएको उनको टिप्पणी थियो। उनले भने, ‘चुनौति र जिम्मेवारीको हेक्का गरिएको छैन। कि त यो अनविज्ञता हो कि आग्रह हो।’
उनले दीर्घकालिन स्वास्थ्य सेवाका लागि चालिएको नीतिगत प्रयास तथा अध्ययन प्रतिवेदनले निर्दिष्ठ गरेका विषयलाई मन्त्रालयले विर्सिएको दाबी गरे। उनले स्वास्थ्यको धेरै जिम्मेवारी तल्लो तहमा दिएपनि जनशक्तिको व्यवस्थापन चुनौतिपुर्ण रहेको टिप्पणी गरे।
संविधानमा स्वास्थ्य लगायतका विषय मौलिक हकमा राखिएको उल्लेख गर्दै उनले असोज भित्र सम्पन्न गर्नुपर्ने जनस्वास्थ्य ऐन, प्रजनन स्वास्थ्य ऐन लगायतका विषयमा कामै सुरु नगरिएकोमा असन्तुष्टि जनाए।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफुले अघि सारेका जनता स्वास्थ्य सेवा लगायत दीर्घकालिन महत्व राख्ने कार्यक्रमहरुलाई बीचैमा छाडिएको भन्दै आधारभुत स्वास्थ्य सेवा र बिमालाई सरकाले नबुझेको दाबी गरे।
आधारभुत स्वास्थ्य सेवा सबैलाई पुर्याउनका लागि विमाको व्यवस्था गर्छु भन्ने योजना सरकारले ल्याएको भन्दै उनले योजना तर्जुमा गर्नेहरुले नै विमा र स्वास्थ्य सेवा भिन्न बिषय भएको भन्ने बुझ्न नसकेको बताए।








