नेमारको अाज खेल्ने सम्भावनाबारे यसो भन्छन् प्रशिक्षक टिटे

एजेन्सी । ब्राजिलले विश्वकपमा अाफ्नो दोस्रो खेल केहीबेरमा कोस्टारिकाविरुद्ध खेल्दैछ। स्विट्जरल्याण्डविरुद्धको पहिलो खेलमा १० चोटी फउलको सिकार भएका नेमार त्यसपछि खुट्टाको जोर्नीमा समस्या देखिएपछि टोलीको अभ्यासमा देखिएका थिएनन्।

जोर्नीको समस्याका कारण चिकित्सकको निगरानीमा रहेका नेमार ब्राजिलका लागि अाजको महत्वपूर्ण खेलमा मैदान उत्रन्छन कि नार्इ? भने चासो सर्वत्र रहेका बेला प्रशिक्षक टिटेले भने नेमार कोस्टारिका विरुद्ध खेल्ने संकेत गरेका छन्।

बुधबार साँझको अभ्यासशत्रमा नेमार फिट देखिएको भन्दै टिटेले नेमारलार्इ सुरुवाती एघारमा राख्ने बताए। तर, अन्तिम समयसम्म पनि उनको स्वास्थ्य अवस्था बुझेर मात्रै मैदान उतार्ने निर्णय लिने उनले बताए।

‘सबै खेलाडीहरुलार्इ खेल जिताउन उत्तिकै महत्व हुन्छ,’ टिटेले भने, ‘विशेष क्षमता भएका खेलाडीहरुको अझै बढी हुन्छ। म कुनै खेलाडीलार्इ बाहिर राख्ने पक्षमा छैन्।’

चोटका कारण गतसोमबार अभ्यासमा सहभागी नभएका नेमार मंगलबारको हल्का अभ्यासमा पनि केहीछिन मात्रै देखिएका थिए। त्यसबारे पुष्टि गर्दै ब्राजिल फुटबल फेडेरेशनका प्रवक्ता भिनिकिवस रोड्रिगेजले उनको दायाँ खुट्टाको जोर्नीमा दुखार्इ महसुस नेमार अभ्यासबाट बाहिरिएको बताएका थिए।

म‌ंगलबार र बुधबार फिजियोको निगरानीमा बसेको उनी बुधबार साँझ अभ्यासमा फर्किएका थिए। पेरिस सेन्ट जर्मनबाट खेल्दा गत फ्रब्रुअरीमा खुट्टामा चोट लागेपछि उनको अप्रेसन गरिएको थियो।

उक्त अप्रेसनपछि नेमार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जुन पहिलो सातामात्रै क्रोयोसियाविरुद्ध ब्राजिलको टोलीबाट खेलेका थिए। क्रोयोसिया र अर्को अस्ट्रियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेमारले गोल गरेका थिए। तर विश्वकपमा स्विट्ल्याण्डविरुद्धको पहिलो खेलमा भने उनले गोल गर्न सकेनन्।

सम्बन्धित शिर्षकहरु