
काठमाडौं । कम्युनिष्ट सरकारले अत्यावश्यक वस्तु तथा ईन्धनमा गरेको मूल्य वृद्विविरुद्ध आज ७७ वटै जिल्ला सदरमुकाममा नेपाल विद्यार्थी संघले सडक बहस कार्यक्रम गरेको छ । प्रदेश नम्बर ३ को राजाधानी हेटौंडामा नेविसंघले आयोजना गरेको बहस कार्यक्रममा अध्यक्ष नैन सिंह महरले जनताका लागि सेवक बन्नु पर्नेमा सरकार नै जनविरोधी काममा उद्दत भएपछी देशव्यापी आन्दोलन गर्नु परेको बताए । उनले रक्षक नै भक्षक भएका कारण ओली सरकारलाई जनताको कठघारामा उभ्याउनु पर्ने माग गरे ।
सडक बहसमा उनले मूल्य वृद्वि थोरै मात्रा घटाऊनु भन्दा पनि बढाईएको सबै मूल्य फिर्ता नहुन्जेल नेविसंघको आन्दोलन नरोकिने बताए । जिल्ला अध्यक्ष राजु खतिवडाको सभापतित्वमा सम्पन्न सडक बहसमा नेविसंघ महामन्त्री सरोज कुमार थापा, पूर्व सहमहामन्त्री निलकन्ठ रिजाल, नेविसंघ नेता आनन्द रवत लगायतले सरकारले जनतालाई महङ्गी बाँच्न बाध्य पारेको बताउँदै सरकारविरुद्ध आवाज सशक्त पार्नुपर्ने बताएका थिए ।








