
काठमाडाैँ । दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा.डा. उपेन्द्र देवकोटाको मंगलबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। सोमबार साँझ निधन भएका डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएपछि अन्त्यष्टि गरिएको हो। देवकोटाको विद्युतीय माध्यामबाट शवदाह गरिएको छ।
अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम विदाई गरेको थियो। देवकोटा निवास हेपाली हाईटमा पत्नी डा. मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकीरिया गर्नेछन्। काजकीरिया ७ दिनमा सम्पन्न हुने अस्पतालले जनाएको छ।
यस अघि उनलाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम विदाई गरेका थिए। काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल प्रांगणमा राखिएको डा. देवकोटाको पार्थिव शरीरमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
सोमबार साँझ सोही अस्पतालमा उपचारको क्रममा निधन भएका डा. देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उनका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए।
स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको थियो। डा. देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो।








