
काठमाडौं । नयाँ शक्ति नेपालका प्रवक्ता डम्बर खतिवडाले वर्तमान सरकार थोत्रो साइकल जस्तो भएको टिप्पणी गरेका छन् । शुक्रबार राजधानीमा युवा शक्ति नेपालको नयाँ कार्यसमिति र कार्यक्रमबारे जानकारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले भने, ‘अहिलेको सरकारले आफूलाई जेट विमान ठान्छ तर हामीले हेर्दा थोत्रो साइकल जस्तो लाग्छ ।’
उनले वर्तमान सरकारले ल्याएको बजेटले विकास र समृद्धिको अभियानलाई योगदान गर्न नसक्ने धारणा राखे । उनले सरकारको बजेटप्रति आलोचना गर्दै भने, ‘सरकारको बजेट विकास र समृद्धिमा छैन । सामाजिक न्यायमा छैन । परम्परागत शैलीमा छ ।’
प्रशिक्षण विभाग प्रमुख समेत रहेका खतिवडाले काँग्रेस र कम्युनिष्टहरु लोकतन्त्रका लागि लडेपनि विकास, समृद्धि र सुशासनमा चुकेको टिप्पणी गरे । उनले काँग्रेस र कम्युनिष्टहरुले पछिल्लो ३० वर्षमा देशलाई कंगाल बनाएको आरोप समेत लगाए । उनले भने, ‘पछिल्लो ३० वर्षमा गरिब भनिएका देशहरु धनीको सूचीमा सामेल भए तर काँग्रेस र कम्युनिष्टहरुको शासनकालमा यो देश गरिब र कंगाल भएको छ ।’








