
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्च अदालतमा पेस भएको निवेदन अस्वीकृत भएको छ। प्रधानमन्त्री ओलीलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको अवहेलनाको निवेदन मुद्दा महाशाखा प्रमुख सह–रजिष्ट्रार नारायण पन्थीले दरपीठ आदेश लेखी अस्वीकृत गरेका हुन्।
सह–रजिष्ट्रार पन्थीले गरेको दरपीठ आदेशमा ढुंगेल लगायतका कैदीहरुको कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन भएकै अवस्थामा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न नमिल्ने भन्ने उल्लेख छ।
वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतको नजीर र विचाराधिन मुद्दा समेत प्रभावित हुने गरी ढुंगेलको कैद मिनाहा गरेर मन्त्रिपरिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको जिकिर गरी निवेदन दर्ताको प्रयास गरेका थिए। वरिष्ठ अधिवक्ता भण्डारीलाई दरपीठविरुद्ध फेरी निवेदन दर्ता गर्ने बाटो भने खुला छ।








