मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौं । नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन । जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो ।

अहिले पूर्व र मध्यका केही क्षेत्रमा सक्रिय भएको मनसुन पश्चिमसम्म फैलन अझै केही दिन लाग्ने मौसमविद् बरुण पौडेल बताउँछन् । ‘मनसुन पूर्वबाट पश्चिमतर्फ जान केही दिन लाग्ने देखिन्छ, पूर्व र मध्यभेगमा राति वर्षा हुने तथा दिउँसो बदली हुने क्रम जारी छ । आज पनि काठमाडौँ उपत्यका आसपास र पूर्वी क्षेत्रमा साँझपख वर्षा हुने अनुमान गरिएको छ,’ उनी भन्छन् ।

पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहे पनि औषत वर्षा बढीमा ४५ मिलिमिटरमात्र भएको छ । हल्कादेखि मध्यमखालको वर्षा भएको हुँदा केही दिन बाढीलगायत प्रकोपको सम्भावना नरहेको मौसमविद् पौडेलको भनाइ छ । उनका अनुसार पश्चिमी भेगमा मनसुन सक्रिय हुन अझै केही समय लाग्ने भएकाले ती क्षेत्रमा केहीदिन बढी गर्मी हुनेछ ।

सम्बन्धित शिर्षकहरु