
बुटवल । नयाँ शक्ति पार्टी, रुपन्देहीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न तीन बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई पठाएको छ । नयाँ शक्ति पार्टी प्रदेश ५ कार्यालय प्रमुख कमल खनाल, पार्टीका रुपन्देही संयोजक विमल गिरी, पाल्पा इन्चार्ज यज्ञ पोखरेल, गुल्मी संयोजक पंकज राई, नयाँ शक्ति रुपन्देहीका नेता पदम विश्वकर्मा लगायतले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीमार्फत् ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा कालीकोटको नरहरिनाथ गाउँपालिका-९ की दलित महिला सदस्य मना (आइती) सार्कीलाई खानेपानीको धारा छोएको निहुँमा गाउँलेले कुटपिट गरी हत्या गरेकोमा दोषीमाथि हदैसम्मको कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र जातीय आधारमा हुने दुर्व्यवहारको अन्त्य गरिनुपर्नै जस्ता विषयवस्तु समावेश गरिएको नयाँ शक्तिका गुल्मी संयोजक पंकज राईले जानकारी दिए ।
त्यसैगरी ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता गर्न, बजार अनुगमन गर्न र कालोबजारी गर्नेमाथि कारवाही गर्न समेत माग गरिएको छ । यस्तै वाम गठवन्धनबारे सरकार गठनपछि पाँच पटकसम्म पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले समग्र दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि हुन गएकाले मुल्यबृद्धि फिर्ता गर्न, बजारको प्रभावकारी अनुगमन गर्न र कालोबजारी गर्नेमाथि कारवाही गर्न माग गरिएको छ ।
नयाँ शक्तिले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन पछि सार्की हत्याको विरोधमा ज्ञापन पत्र बुझाएको हो ।








