
काठमाडाैँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिका लागि अहिले सबैभन्दा अनुकूल वातावरण बनेको दावी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित साना तथा मझौला व्यवसायी महासंघ, नेपालको १५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकारले सुशासन, आर्थिक विकास र समृद्धिमा जोड दिएको बताए। ‘आर्थिक समृद्धिका लागि अहिले सबैभन्दा अनुकूल वातथावरण छ किनभने देशमा वामपन्थीको झण्डै दुई तिहाइ बहुमतको सरकार छ’ उनले भने, ‘दलहरुले पनि सुशासन र आर्थिक समृद्धिलाई नै जोड लिदइरहेका छन्।
सबै राजनीतिक दलहरुको मूल एजेन्डा विकास र समृद्धि भएको भन्दै त्यसलाई नयाँ गतिका साथ अघि बढाउने चुनौति सामना गरेर अघि बढनुको विकल्प नरहेको पनि उनले स्पष्ट पारे। उनले विगतमा राजनीतिक स्थायित्व हुन नसक्दा मुलुकको आर्थिक विकासको काम अघि बढन नसकेको पनि स्मरण गराए।
अध्यक्ष प्रचण्डले कृषि, पर्यटन, उद्योगमार्फत् मुलुकको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए। अध्यक्ष दाहालले साना तथा मझौला उद्योग मुलुकको आर्थिक विकासको मूल आधार भएको उल्लेख गर्दै त्यसलाई आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए। उनले महासंघले संचालन गरेको ‘एक घर, एक व्यवसाय’ अभियानलाई पनि आफूहरुको साथ रहने बताए।








