प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीबारे बोल्दा मसालको किन आपति ?(पूर्ण विज्ञप्तिसहित)

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीमा परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली अपनाउन प्रकट गरेको विचार प्रति नेकपा (मसाल) ले गम्भिर ध्यानाकर्ष भएको जनाएको छ । मसालका महामन्त्री मोहन विक्रम सिंहले एक विज्ञप्ति जारी गरी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएसँगै प्रचण्डको अभिव्यक्ति बाहिर आएको भन्दै त्यसले कैयौं गम्भीर आशंकालाई जन्म दिएको बताईएको छ ।

विज्ञप्तिमा नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीले देशलाई तानाशाही व्यवस्थातिर लैजाने उल्लेख गरिएको छ । हेर्नुहोस् पूर्ण विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
 वक्तव्य
नेकपाका अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणालीमा परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली अपनाउन प्रकट गरेको विचार प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । यो उनको नयाँ विचार नभएर पहिलेदेखिको नै विचार हो । तर अहिलेको नयाँ सन्दर्भमा यसले विशेष अर्थ राख्दछ ।
हाम्रो पार्टीको सुरुदेखि नै यो मत रहेको छ कि नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीले देशलाई तानाशाही व्यवस्थातिर लैजान्छ ।
फोरमलाई अहिलेको सरकारमा ल्याउने जुन कार्य गरियो, त्यसले कैयौं गम्भीर प्रकारका आशंकालाई जन्म दिएको छ । कसैलाई सरकारमा सामेल गर्ने वा नगर्ने, त्यो हाम्रो सरोकारको विषय होइन । तर त्यस सन्दर्भमा यो स्पष्ट छ कि प्रत्यक्ष राष्ट्रपति प्रणालीका पक्षमा दुई–तिहाई मत जुटाउन नै फोरमलाई सरकारमा सामेल गरिएको हो । तर त्यससित जोडिएको अर्को त्योभन्दा महत्वपूर्ण पक्षप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । प्रत्यक्ष राष्ट्रपति प्रणालीको पक्षमा दुई–तिहाई बहुमत जुटाउने उद्देश्य पूरा गर्न, फोरमका संविधानमा राष्ट्रघाती प्रकारका संशोधनहरु पारित गराउने कुनै आन्तरिक समझदारी ता बनेको छैन ? त्यसो गरिएको भए त्यो गम्भीर राष्ट्रघातको कार्य हुनेछ ।
फोरमका नेताहरुले बारम्बार संविधानमा संशोधनका कुरा उठाइरहेका छन् । तर सरकार र फोरमका बीचमा त्यसबारे कुनै समझदारी भएको छ वा छैन ? त्यसो गरिएको भए त्यो गम्भीर प्रकारको राष्ट्रघात हुनेछ । त्यस प्रकारको राष्ट्रघातको मूल्यमा फोरमसित गठबन्धन गरेर प्रत्यक्ष राष्ट्रपति प्रणालीलाई कायम गर्ने प्रयत्न ता गरेको छैन ? प्रश्न नउठाइकन रहन सकिन्न ।
संसारका कतिपय देशहरुमा भएका कार्यकारी राष्ट्रपति प्रणालीका उदाहरणहरु अगाडि छन् । कैयौं देशहरुमा त्यो प्रणाली सफल भएको छ । तर टर्की र अमेरिकाको राष्ट्रपति प्रणाली कति अधिनायकवादी र विकृत रुपमा प्रस्तुत भएका छन् ? त्यो विश्वका अगाडि प्रत्यक्ष छ । यो स्पष्ट छ, नेपालमा प्रजातान्त्रिक प्रणालीको कम विकास भएकाले र राजनीतिक पार्टीहरुमा पनि प्रजातान्त्रिक संस्कारको अत्यन्त कम विकास भएकाले र देशमा प्रत्यक्ष राष्ट्रपति प्रणाली कायम भएमा त्यसको परिणाम स्वरुप हाम्रो देशमा तानाशाही व्यवस्थातिर जाने कुरा निश्चित छ । अहिले संसदीय प्रणाली अन्तर्गत पनि विभिन्न राजनीतिक पार्टी वा संगठनहरुमा प्रत्यक्ष मात्रामा अधिनायकवादी प्रणाली देखापर्ने गरेका छन् । त्यो अवस्थामा कार्यकारी राष्ट्रपति प्रणाली नै कायम भएमा त्यसका कति धेरै दुष्परिणाम हुनेछन् ? अनुमान गर्न मुश्किल पर्दैन । हाम्रो पार्टीले संसदीय प्रणालीलाई पनि सिद्धान्ततः समर्थन गर्दैन । तैपनि वर्तमान व्यवस्था अन्तर्गत सरकार संसदप्रति जवाफदेही हुने भएकाले कार्यकारी राष्ट्रपतिका तुलनामा त्यो बढी प्रजातान्त्रिक हुनेछ । त्यसैले हाम्रो पार्टी वर्तमान निर्वाचन प्रणालीका ठाउँमा राष्ट्रपति प्रणालीलाई गलत र अप्रजातान्त्रिक ठान्दछ र त्यसको विरोध गर्दछ ।
मिति : २०७५ जेष्ठ २२ गते
मोहनविक्रम सिंह
महामन्त्री

सम्बन्धित शिर्षकहरु