
एजेन्सी । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको आगामी वार्ता रद्द गर्ने धम्की दिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तरले निशस्त्रीकरणको बाटोमा अगाडी नबढे लिवियाजस्तै समाप्त हुने धम्की दिएपछि उत्तरको पछिल्लो प्रतिक्रिया आएको हो ।
उत्तरले उपराष्ट्रपति पेन्सलाई ‘मूर्ख’ करार दिँदै यदि कूटनीतिक असफल भयो भने परमाणु सम्झौता नहुने चेतावनी दिएको छ ।
उत्तरको विदेश मामिलाका उप मन्त्री चोइ सन हिउले बिहीबार त्यहाँको राज्य सञ्चालित समाचार संस्थासँग पेन्सको भनाईलाई ‘मूर्खतापूर्ण’ भन्दै आलोचना गरेकी छिन् । पेन्सले फक्स समाचारसँग दिएको अन्तरवार्तामा उत्तर र लिबियालाई तुलना गरेको सन्दर्भमा पेन्स उत्तर कोरियाको अवस्था र क्षमताबारे अनविज्ञ भएको बताइन् ।
साथै चोइले यदि पेन्सको भनाईले वासिङटनको भावनालाई प्रतिबिम्बित गर्छ भने सिंगापूरमा १२ मेमा तय गरिएको वार्ताले कुनै अर्थ राख्छ भन्ने प्रश्न गरिन् । उनले भनिन्, ‘हामी अमेरिकासँग न वार्ताको लागि हात जोड्छौं न त वार्ताको लागि उनीहरुलाई फकाउने झन्झट लिन्छौं ।’ चोइले दुई देशबीचको वार्ता र परमाणु सन्धीको सम्भावना अमेरिकाको निर्णय र व्यवहारमा भर पर्ने बताइन् ।








