
काठमाडौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले आफू सुन तस्करीमा सेटिङ मिलाउने र कमिशन लिने गरेको बताएका छन् । त्यसका लागि उनले वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई हातमा लिएर काम गरेकाले बाँकी विस्तृत उनै एसपी खत्रीलाई पक्राउ गरी उनैसँग सोध्न भनेका छन् ।
गोरेले बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिशन लिने भएको बताएका छन् । दिनमा ८६ केजीसम्म सुन भित्र्याएको स्मरण गर्दै त्यत्रो सुनमा लगानी गर्ने आफ्नो हैसियत नभएको स्पष्ट पारेका छन् । लगानीकर्ता मोहनकुमार अग्रवाल भएको र केही भारतीयहरु पनि रहेको उनले बताए । कहिलेकाँही सानो परिमाणको सुन भने आफैले ल्याउने गरेको पनि बताएका छन् । एयरपोटबाट ३३ किलो सुन हराएपछि आफूलाई निकै दवाव आएकाले व्यापक रुपमा खोजी कार्य गरिएको बताए । उनी बयानका क्रममा पनि निकै त्रसिद देखिएका छन् । उनी कहिले रुन्छन् त कहिले हाँस्छन्, आफूलाई कहिले हान्दे’ सम्म भन्छन् ।
मंगलबार विहान काठमाडौं– ८ गौरीघाटबाट पक्राउ परेका गोरेलाई जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ । सुन तस्करीबाट अनुसन्धान गरीरहेको छानविन समितिले गोरेलाई सार्वजनिक गर्नुअघि बयानमा गोरेले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको सबै रहस्य खुल्ने बताए । गोरेले सुन तस्करीमा आफूले सघाउने प्रहरीहरुको नाम लिस्टमा एसपी खत्रीको पनि नाम उल्लेख छ । उनले पटक पटक गरी एसपी खत्रीलाई १ करोड १२ लाख रकम बुझाएको बताएका छन् ।
तस्करीमा संलग्न अन्य अभियुक्तले पनि एसपी खत्रीको नाम उल्लेख गरेका छन् । खत्री यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । पछि अदालतले सफाई दिएपछि उनी हाल फरार छन् ।
खत्रीबाहेक ६ प्रहरी अधिकारीलाई जिल्ला अदालत, मोरङले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बयानका क्रममा गोरेले विमानस्थलका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुन कटाउने गरेको स्वीकारेका छन् ।








