बोटल र जारका पानीमा मानव मलमुत्रमा पाइने जीवाणु,दोषी कम्पनीको नाम गोप्य राखियो

काठमाडौं । शुद्ध पिउने पानी भनेर बिक्री गरिने बोटल तथा जारको पानीमा कोलिफम र इकोली नामक जिवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाइन्छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तरगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका वोटल तथा जारका पानीको नमूनाको परीक्षण गर्दा यस्तो पाइएको हो ।

केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने वोटल र जारका पानीको नमूना परीक्षण गर्दा अधिकांशमा कोलिफम र इकोली पाइएको जानकारी दिए ।  उनका अनुसार पिउने पानीमा कोलिफमको मात्रा चार भन्दामाथि पाइएको छ । महाशाखाका अनुसार चालु आर्थिक वर्षमा झण्डै सात सय पानीको नमूना परीक्षण गरिएको छ ।

महाशाखाका अनुसार परीक्षण गरिएका अधिकांश पानी सर्वसाधारणले घरमा प्रयोग गर्ने गरेका जार तथा वोटलका पानीको नमूना परीक्षण गरिएको छ भने लगभग एक सयको हारहारीमा ट्यांकरमा विक्री गरिने पानी र डिपवोरिङ्गबाट तानिएका पानीको गुणस्तर परीक्षण गरिएको छ ।
पानी गुणस्तर महाशाखाका प्रमुख कार्कीले जार र वोटलको पानी उपभोक्ताको आग्रहमा नमूना परीक्षण गरिएकोले तिनको उत्पादन कम्पनीको नाम सार्वजनिक गर्न नमिल्ने तर्क गरे । केयुकेएल पानी गुणस्तर महाशाखाले उपत्यकाका ट्यांकर र वोरिङ्गको पानीको परीक्षण गर्दा अधिकांश नमूनामा आइरन र एमोनियाको मात्रा बढी भेटिएको पाइएको छ, गोरखापत्रमा खबर छ ।

सम्बन्धित शिर्षकहरु