पेरिसडाँडाबाट हटाइयो माओवादी लेखिएको साइनबोर्ड

काठमाडौं । कोटेश्वरको पेरिसडाँडास्थित पूर्व नेकपा माओवादी केन्द्रको कार्यालयबाट माओवादी लेखिएको साइनबोर्ड हटाइएको छ । पुरानो ब्यानर हटाउँदै कार्यालयमा ‘नेपाल कम्युनिष्ट पार्टी’को साइनबोर्ड राखिएको हो । शुक्रबार दिउँसो राखिएको साइनबोर्डमा ‘नेपाल कम्युनिष्ट पार्टी, केन्द्रीय कार्यालय’ लेखिएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने भए पछि पेरिसडाँडामा भातृ संगठनहरुको केन्द्रीय कार्यालय रहने बताइएको छ ।

नवगठित नेकपाले मार्क्सवाद र लेनिनवाद मात्रै मान्ने भएपछि पेरिसडाँडामा रहेको जोसेफ स्टालिन र माओत्सेतुङको शालिक संकटमा परेको छ । एकीकृत पार्टीले माओवाद नै नमान्ने भएपछि स्टालिन र माओको शालिक राख्नुको ‍औचित्य नहुने एमाले नेताहरुको तर्क रहेको छ । माओवादीले स्टालिनको ७० प्रतिशत सही र ३० प्रतिशत गलत भन्दै संश्लेषण गरेका थिए । उनीहरुले समग्रमा स्टालिनलाई आदर्श मान्ने गरेका थिए ।

०५२ साल अघिदेखि नै राजतन्त्र अन्तर्गत जबजको बाटो समातेको एमालेले माओवाद मान्दैन । एमालेले लिएको त्यही बाटोविरुद्ध जनयुद्ध सञ्चालन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न माओवादीले निर्णायक भूमिका खेल्यो । यथार्थ जे भए पनि अहिले एमालेकै वर्चश्व अन्तर्गत एकीकरण भएकोले पेरिसडाँडामा पूर्वएमालेले माओ र स्टालिनको शालिक राख्दा सजिलो महसुस गर्ने छैनन् । एमालेले जनयुद्धमा नलाग्नु र विरोध गर्नु गलत थियो भन्ने भित्री मनले नस्वीकारी र प्रचण्ड माओवादीले गरेको जनयुद्ध गलत र अपराध थियो भनेर पश्चाताप नगरी दुवै पक्षले एकआपसलाई सही मान्दै गरेको एकताका कारण पनि केही व्यवहारिक अप्ठेरा पैदा हुने वाम विश्लेषकहरु बताउँछन् ।

सम्बन्धित शिर्षकहरु