काठमाडौं । विमानस्थलबाट हुने सुन तस्करीको छानविनको दोस्रा चरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की, पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल, पूर्व एआईजीहरु विजयलाल कायस्थ, विज्ञानराज शर्मा, नवराज ढकाल, दिपक मल्होत्रा, सुवास श्रेष्ठलगायतका केही व्यापारीहरुमाथि पनि अनुसन्धान हुने भएको छ ।
विशेष अनुसन्धान समितिले सुन तस्करीको फाइल पल्टाउँदै जाँदा अर्याल आईजीपी छँदा कायस्थ एयरपोर्टमा रहेको बेला मल्होत्राले सेटिङ गरी अवैध सुन भित्र्याएको प्रमाण फेला पारिसकेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
कायस्थले १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद् गरेको झण्डै ५० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कमिसन खाएका थिए । जुन घटना अहिलेसम्म पनि रहस्यमय नै छ ।
कायस्थ र गोरेको पनि कनेन्सन भेटिएको छ । पूर्व आईजीपी अर्यालले एयरपोर्टमा सुन तस्करीको सिन्डिकेट चलाउन तत्कालिन डिआईजी यादव अधिकारीलाई हटाएर कायस्थलाई लगेका थिए । अदालतबाट एआईजी बनाउन आदेश हुँदा समेत अर्यालले अधिकारीलाई एआईजी बनाउनबाट रोक्ने प्रयास गरेका थिए ।
स्रोतका अनुसार अर्याल, ढकाल, कार्की र कायस्थको समूहले सुन तस्करीको सिन्डिकेट नै चलाएको थियो । जुन सिन्डिकेट अहिले तोडिएको छ । कायस्थ एयरपोर्टमा रहँदा मल्होत्राले एकलौटी रुपमा सुन तस्करी गरेको छानविन समिति स्रोतले बतायो ।
समितिले महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुनको सम्बन्धमा पनि अनुसन्धान शुरु गर्ने बुझिएको छ । व्यपारी मलहोत्राको नाम यसअघी पनि चर्चामा आउने गरेको छ ।
२०५५ मा सांसद परी थापाको संयोजकत्वमा गठित राजश्व चुहावट नियन्त्रण समिति समितिले बुझाएको प्रतिवेदनमा प्रकाश टिवडेवाला, विष्णु जोशी, विष्णु गौचन, स्वाँरलगायत दर्जनौ व्यक्तिहरु सुन तस्करीमा सँलग्न रहेको उल्लेख थियो । तर, ती कुनै व्यापारीमाथि कानुनी कारवाही भएन ।
त्यस्तै सुन तस्करीमा एयरपोर्ट भन्सारका तत्कालिन प्रमुख सुदीपचन्द्र शाह र मेट्रोका तत्कालिन प्रमुख एआईजी विज्ञानराज शर्माका भाई दयाको पनि मिलेमतो देखिएको समिति स्रोत बताउँछ ।








