काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरण अहिले नाटकीय मोडमा आएर अड्किएको छ । पहिलो चरणको अनुसन्धान सकिएको भनिएको साढे ३३ किलो सुन प्रकरणका मुख्य योजनाकार गोल्ड डन गोरे अर्थात चुँडामणि उप्रेतीले अहिलेसम्म प्रहरीलाई चक्मा दिइरहेका छन् । घटनाको अनुसन्धानका क्रममा प्रहरीकै उच्च अधिकृतहरु भटाभट पक्राउ परे पनि विशेष अनुसन्धान टोलीले गोरेको गन्ध समेत पाउन सकिरहेको छैन ।
मोरङ, उर्लाबारीका घर भएका ‘गोल्ड डन’ गोरे र हराएको साढे ३३ किलो सुन कहाँ पुग्यो र गोरे कहाँ छन् ? अझैसम्म पनि प्रहरीले भेउसम्म पाउन सकेको छैन । घटनाको अनुसन्धान गर्न गठित गृह मन्त्रालयको सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले हालसम्म २८ जना व्यक्तिलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा आधा दर्जन बहालवाला प्रहरी र उच्च प्रहरी अधिकारी छन् ।
तर, तस्कर गोरे अझै प्रहरीको फरार सूचीमै छन् । छानबिन समितिले आइतबार मात्रै विराटनगर पुगेका अपराध महाशाखाका प्रहरी नायव उपरीक्षक प्रजित केसीलाई पक्राउ गरेको छ । यसअघि, पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोविन्द निरौला, मनवानपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनाल, इटहरीमा कार्यरत प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्का पक्राउ परिसकेका छन् ।
यस्तै, सुन व्यवसायी आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य, जयमातादी डोल्डका सञ्चालन पवन अग्रवालसमेत पक्राउ परिसकेका छन् । केही प्रहरी अधिकारीमाथि समेत छानबिन प्रक्रिया थालिएको छानबिन समितिले जनाएको छ । यसरी सोही घटनामा प्रकाउ हुनेको सख्या २८ जनाभन्दा बढी पुगेको र चुँडामणि उप्रेतीको खोजी भएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले बताएका छन् । तर, उप्रेती भने भारततिर लुकेर बसेको हुन सक्ने प्रहरीको आशंका छ । यतिका प्रहरी अधिकारीहरुमाथि छानविन गर्दा र बयान समेत लिंदा समेत सुन तस्करका नाइके गोरेबारे कुनै जानकारी अहिलेसम्म बाहिर आउन नसक्नु छानविन समितिका लागि समेत चुनौतीको विषय बन्दै गएको छ ।
तीनको मृत्यु
स्करीको ३३ किलो सुन विमानस्थलबाट बाहिर ल्याएका थिए थाई एयरवेजमा वरिष्ठ प्राविधिक सानु वनले । वनले ल्याएको सुन एयरपोर्टबाट निस्किएपछि सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । २२ माघमा सुन गायब भएपछि सुनका मालिन गोरेलगायतको समूहको टर्चर सहन नसकेर उनले गुड्दै गरेको ट्याङ्करमा ठोक्किएर आत्महत्या गरेका थिए । वनपछि उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो । उनी गोरेको नजिकको सहयोगी थिए ।
उनीबाट हराएको सुनको सूचना फुत्काउने कोशिसका क्रममा करेन्ट लगाएर टर्चर दिँदा शाक्यको मृत्यु भएको प्रहरी अनुमान छ । शाक्यको शव अपराध महाशाखाको प्रहरी टोलीले इटहरीबाट बरामद गरेको थियो । त्यसलगत्तै पक्राउ परेका बर्दियाको राजापुर नगरपालिका–७ का प्रेमराज चौधरीले महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा आत्महत्या गरेका थिए ।
-नयाँपेज








