काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण देश विकास र मुलुकको प्रतिष्ठाका लागि हुने बताएका छन् । उनले भ्रमणको नाममा आफू सम्झौताको चाङ्ग लगाउने पक्षमा नरहेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण देशको शीर उच्च बनाउँदै विकासको लहर भित्र्याउनेतर्फ केन्द्रित हुने दावी गरे । आफ्नो भारत भ्रमणबारे संसदमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा देशको शीर निहुर्याउने गरी कुनै पनि सम्झौता नगर्ने बताएका छन् । आफ्नो भारत भ्रमणबारे आज संसदमा जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओली ।
‘मैले यसअघि पनि भनिसके चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण गर्दैछु’ मंगलबार प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘एउटा कुरा म भन्छु, देशलाई अप्ठ्यारो पर्ने, देशको शीर निहुरिने, देशले लल्जाबोधन गर्ने, देशलाई नोक्सान पर्ने कुनै काम भ्रमणका क्रममा हुँदैन र गरिंदैन । देशको शीर उठ्ने र देशलाई लाभ हुने काम मात्रै गरिने छ ।’
प्रधानमन्त्री ओलीले नेपाल र भारतको सम्बन्ध कसैले बिगारेर नबिग्रने बताए । उनले संसदमा सम्बोधन गर्दै नेपाल भारतको सम्बन्ध बहुआयमिक र मैत्रीपूर्ण भएकाले कसैले बिर्गान नसक्ने दाबी गरेका हुन् । ‘नेपाल र भारतका बीचमा सदियौँदेखि बहुआयामीक सम्बन्ध छ । त्यो सम्बन्ध मैत्रीपूर्ण छ । कहिले–कहिले कसैकसैले बिर्गान खोजे पनि त्यो बिगार्न सजिलो छैन’, प्रधानमन्त्री ओलीले भने, ‘खासगरी हामीले हाम्रा भावना र समस्या स्पष्ट ढंगले मैत्रीपूर्ण ढंगले राख्यौँ भने हाम्रा हितलाई उसले सुन्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले छिमेकी भारत र चीन दुबैसँग नेपालको सम्बन्ध मित्रतापूर्ण र सन्तुलित रहेको समेत बताए । प्रधानमन्त्री ओलीले एक आपसको पारस्परिक सम्बन्ध व्यवहारमा कार्यान्वयन भए मात्र मित्रता हुने उल्लेख गरेका छन् । ‘पारस्परिक सम्बन्धको आधार व्यवाहारमा कार्यान्वयन हुनुपर्छ, अनिमात्र छिमेकीसँगको मित्रता अन्त्यत मित्रतापूर्ण हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘छिमेक नीति भनेकै मित्रतापूर्ण सम्बन्ध हो । मित्रता कसरी हुन्छ ? समानताका आधारमा । आपसी सहयोगका आधारमा हुन्छ । संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेख भए अनुसार हुन्छ ।’
ओलीले यसअघि पनि आफू प्रधानमन्त्री भएर भारत जाँदा सम्झौतामा जोड नदिएको सम्झदै अब पनि त्यही हुने प्रष्ट पारे । ‘यसअघि पनि म प्रधानमन्त्री भएको बेला मेरो भारत भ्रमणमा मैले सम्झौतालाई प्राथमिकतामा राखिन, त्यसबेला देशको हितका पक्षमा सम्झौता भए’, प्रधानमन्त्री ओलीले भने, ‘यस पटक पनि म नयाँ सम्झौताको चाङ लगाउँदिन । भएका सम्झौतालाई कसरी प्रभावकारी गर्ने भन्ने विषयमा भ्रमण केन्द्रित हुनेछ ।’
उनले भइसकेका सम्झौतामा हाम्रा सहयोगका क्षेत्रमा कसरी उपलब्धि हासिल गर्न सकिन्छ र तिनलाई अध्यावधिक कसरी गर्न सकिन्छ भन्नेतर्फ विशेष पहल गर्ने बताए । सँगै नेपालको कृषि क्षेत्र, जलमार्ग, रेलमार्ग, कृषि क्षेत्रका पारस्परिक सहयोग र अनुभवको आदानप्रदान, आधुनिकीकरण र व्यवसायिकरणका विषयमा छलफल हुने बताए ।
उनले अन्तराष्ट्रिय उत्तरदायित्व र कर्तव्य, नेपाल पक्ष भएका सन्धि सम्झौता, पक्ष नभएका सन्धि सम्झौता जेजेमा पनि परिस्थिति अनुसार सम्बन्ध अघि बढ्ने प्रष्ट पारे । ‘हाम्रा दुवै छिमेकी मित्रराष्ट्र भारत र चीनसँग हाम्रो सम्बन्ध राम्रो छ । यो सम्बन्ध अझ सुदृढ र प्रगाण बन्दै जान्छ’, प्रधानमन्त्री ओलीले भने ।








