काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकका लागि ‘नमस्ते क्रेडिट सेवा’ शुक्रबार बाट शुरु गरेको छ । टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरे ।
उक्त सेवा लिनका लागि जीएसएम प्रिपड ग्राहकले आफूले कति रकम बराबरको सेवा लिन चाहेको हो त्यसको जानकारी आफ्नो मोबाइलमा स्ट्याट्स ‘status’ टाइप गरी १४७७ मा पठाउनुपर्ने हुन्छ ।
यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ को सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ ।
सेवा लिन नचाहनेले स्टप ‘stop’ टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् ।
ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने टेलिकमले जनाएको छ । यो सुविधामा ग्राहक पिच्छे फरक-फरक रकमको सीमा तोकिनेछ । यो सुविधा टेलिकमको प्रिपेडमा मात्रै लागू गरिएको हो । नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् ।








