काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक शक्तिका आडमा कानुनविपरीतका काम सैह्य नहुने प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार आएका पूर्वसांसद मञ्चका पदाधिकारी, सार्कका ब्यापारीलगायतका प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो ।
‘राजनीतिक शक्तिका आडमा कानुनविपरीतका सरकारलाई काम सैह्य हुँदैन, कसैले यस्तो काम गरे कानूनको कठघरामा आउनै पर्छ,’ प्रधानमन्त्रीले भन्नुभयो । देशमा अनेकखाले संघर्ष गरेर परिवर्तन आए पनि त्यसको अनुभूति जनताले पाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘लोकतन्त्र आयो नि भन्ने तर त्यसको अनुभूति तल्लो स्तरको जनताले महशुस नगर्ने’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘जनताले महशुस गर्ने गरी लोकतन्त्रको अनुभूति गराउनु यो सरकारको दायित्व हो ।’
प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा ठेक्कापट्टा कमिशनका भरमा नभइ न्यायोचित ढंगले हुनुपर्ने बताउनु भयो । ‘सरकारको भ्रष्टाचार न्यूनिकरण गर्ने निर्मूल गर्ने नीति छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘राजनीतिक आडमा, शक्तिका आडमा कसैले पनि कानुनविपरीत काम गर्छ भने कडाइका साथ नियन्त्रणमा लिइन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा उहाँले ‘सुखी नेपाली, समृद्ध नेपालको चाहना’ पुरा गर्न पूर्वसांसदहरुको अनुभव कामयावी हुने पनि बताउनु भयो ।
‘पूर्व सांसद मञ्च भनेको संसद र सरकारको सल्लाहकार नै हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘आफू संसद भएका बेला वा आफू सरकारमा भएका बेला गरेका कामहरुको अनुभवले वर्तमान संसद र सरकारलाई महत्वपूर्ण दिशानिर्देश गर्न सक्छ ।’ नेपालको सामाजिक विविधतामा विभिन्न तत्वहरुले खेल्न सक्ने भएकोले राष्टिकय एकताको भावना बलियो बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
सिरिया र रुवाण्डाको द्वन्द्वको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले ‘आपसमा भिडाएर द्वन्द्वको खेति गर्नेहरु सबैतिर सक्रिय हुन्छन् । उनीहरु द्वन्द्वका विभिन्न रुप देखाएर त्यसको उद्योग चलाउँछन् ।’नेपालमा पनि जातीय, धार्मिक, भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीहरुले त्यसलाई अस्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।








