अझै टुंगिएन मन्त्री, क–कसको चर्चा, फोरम सोमबार नै नआउने

काठमाडौं । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भए पनि दुवै पार्टीले अझै सरकारमा पठाउने मन्त्रीको टुंगो भने लगाउन सकेका छैनन ।

दुवै पार्टीमा आकांक्षी नेताको संख्या बढी भएको र आकांक्षीमध्ये पनि धेरैले गृह, अर्थजस्ता महत्वपूर्ण मन्त्रालयमै दाबी नछाडेका कारण ओली–दाहाल दुवै निर्णयमा पुग्न सकिरहेका छैनन्।

माओवादीले प्रदेशस्तरबाट सम्भावित मन्त्रीहरूको सूची तयार पारेर छनोटको काम बाँकी राखेको छ। एमालेमा पनि अध्यक्ष ओलीले वरिष्ठ नेतासँग परामर्श गरेर नाम तय गर्न थालेका छन्। यद्यपि निर्णयमा भने ओली पनि पुगिसकेका छैनन्।

दुवै पार्टीले सांसदहरूको प्रेसर कम गराउन भए पनि सोमबार मध्यान्ह्सम्म मात्रै नाम फाइनल गर्ने गरी तयारी गरेका छन्। ‘सोमबार बिहान कार्यालयको बैठक बसेर मात्र पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम फाइनल हुन्छ, अहिले नै टुंगिहालेको छैन’, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भनिन्।

माओवादी कार्यालयमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। माओवादीमा वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने करिब निर्णयजस्तै छ। यद्यपि उनको मन्त्रालयको विषय भने टुंगिएको छैन।

उनले सरकारमा उपप्रधानसहित गृहमा रुचि देखाएका छन्। माओवादीमै नेताहरू वर्षमान पुन र जर्नादन शर्माले पनि गृहमै दाबी प्रस्तुत गरेका छन्। माओवादीवाट गिरिराजमणि पोखरेल, पम्फा भुषाल, मातृका यादव, शक्ति बस्नेत, बीना मगर, अमनलाल मोदी, सुदन किराँती, सुरेश राई (हिमाल), देवेन्द्र पौडेल, हरि अधिकारी, चक्रपाणि खनाललगायत नेतामध्येबाट मन्त्री बनाउने गरी रोस्टर तयार भएको छ।

उता एमालेमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सुरेन्द्र्र पाण्डे, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, वसन्त नेम्बाङ, प्रेम आले, पार्वत गुरुङ, राजबहादुर बुढालगायत नेता मन्त्रीका लागि लबिङमा छन्। यसअघि नै ओलीले लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाइसकेका छन्।

ओलीले पनि सोमबार बिहान पुनः पार्टी नेतासँग एकचरण छलफल गरेर मात्र मन्त्रीको नाम टुंग्याउने तयारी गरेको ओलीनिकट स्रोतले बतायो।

फोरम सोमबार नै नआउने
उपेन्द्र्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन। त्यसका कारण सोमबारको मन्त्रिपरिषद् विस्तारमै यादवको पार्टी सरकारमा सहभागी हुने सम्भावना भने छैन।

तर, उसले ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि लचिलो बन्दै सकारात्मक संकेत दिएको छ। फोरम नेता शिवजी यादवका अनुसार प्रधानमन्त्री तथा माओवादी अध्यक्षसँग फोरम अध्यक्षको अनौपचारिक छलफल भइरहेको छ। सरकारमा सहभागिताका लागि फोरमले चारबुँदे प्रस्ताव अगाडि सारेको थियो

‘हामीले माग राखेपछि उहाँहरूले कार्यदल बनाउने कुरा हुनुपर्थ्यो, भइसकेको छैन, सम्भवतः अब कार्यदल बन्छ होला’, यादवले अन्नपूर्णसँग भने, ‘पहिले कार्यदल बन्यो भने त्यसपछिको अवस्था हेरेर फोरम सरकारमा जान्छ।’ अाजको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु