
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रियसभामा मनोनित तीन सदस्यको शपथ रोक्न अन्तरिम आदेश दिएको छ । केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिसपछि राष्ट्रपतिद्वारा मनोनित राष्ट्रियसभा सदस्यत्रय डा.युवराज खतिवडा, रामनारायण विडारी र विमला राई पौडेललाई सपथग्रहण नगराउन सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आइतबार यस्तो आदेश दिएको हो ।
सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई फागुन २० गते बोलाएको छ । सर्वोच्चले सपथ ग्रहणकै दिन अदालत बोलाएको हो । देउवा सरकारले कृष्णप्रसाद पौडे, गोपाल बस्नेत र चाँदनी जोशीलाई मनोनित गर्न सिफारिस गरेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अड्काएर राखेकी थिइन् । उक्त कदमलाई कांग्रेसले राष्ट्रपति भण्डारीले राजनीति गरेको भन्दै विरोध गरेको थियो ।
ओली नेतृत्वको सरकार बन्नासाथ देउवा क्याबिनेटको निर्णय उल्टाउँदै नयाँ नाम सिफारिस गर्नासाथ भण्डारीले उक्त नाम अनुमोदन गरेकी थिइन् । सर्वोच्चको यो आदेशसँगै प्रधानमन्त्री ओली अप्ठेरोमा परेका छन् ।








