
काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वर्ल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई भ्रष्टाचार प्रकरणमा विशेष अदालतले फैसला सुनाउँदै दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ जनाविरुद्ध मुद्दा दायर गरेकोमा २० जनालाई भने अदालतले सफार्इ दिएको छ ।
दोषी ठहर भएका निरौलालाई ७ वर्ष कैदसँगै ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना, दासलाई ६ वर्ष कैदसँगै ५० लाख २९ हजार ५४ हजार बिगो तथा २४ लाख ३७ हजार ४ सय जरिवार र खनाललाई एक लाख ५४ हजार बिगो तिराउने फैसला विशेष अदालतले गरेको छ । न्यायाधीशहरु द्वारिकानाथ जोशी, बाबुराम रेग्मी र नारायणप्रसाद पोखरेलको इजलासले यस्तो फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ चैत २० गते पर्यटन बोर्डमा करिब एक अर्ब भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो।








