काठमाडौं। मनोज पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोलीले पक्राउ गरेको छ । हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहँदै आतंक मच्चाउँदै आएको पुनलाई भारतको तटीय राज्य गोवा सिआइबीको टोलीले पक्राउ गरेको स्रोतले बताएको छ । फागुन ६ गते गोवाबाट प्रहरीले नियन्त्रणमा परेका पुनलाई नेपाल ल्याउँदै गरेको छ।
सिआइबीले यस बारेमा औपचारिक रुपमा जानकारी नदिएपनि मनोज पुनका निकट रहेको बताउनेहरुले फोन गरि पुन पक्राउ परेको जानकारी दिएका हुन्। नम्वर नदेखिने फोनबाट पुनका सहयोगी बताउनेहरुले फोन गरि पुनलाई सादा पोसाकका प्रहरीले ६ गते आइतवार गोवाबाट नियन्त्रणमा लिएको जानकारी दिएका हुन्।
नेपाल प्रहरीको टाउको दुखाइ भएको पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीले एक विशेष टोली नै खटाएको थियो। प्रहरीका एक सईको कमाण्डमा विशेष टोली पुनलाई नियन्त्रणमा लिन उसलाई भेटिने सम्भावित ठाउँहरुको पहिचान गर्दै करिव ३ महिनादेखि भारतमा रहेको थियो।
बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न रहेको पुन समुहले काठमाडौं समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा लिएको थियो। एक पछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न रहेपछि नेपाल प्रहरीको लागि पुन समुह टाउको दुखाइ हुँदै आएको थियो। राजनीतिक रुपमा पनि प्रहरीलाई दवाव आउन थालेको थियो।








