
एजेन्सी । अमेरिकी नौसेनाका एक एड्मिरलले अमेरिकाले चीनसँगको युद्धको तयारी गर्नैपर्ने बताएका छन्। राष्ट्रपति ट्रम्पद्वारा अष्ट्रेलियाको राजदूतमा मनोनित ह्यारी ह्यारिसले चीनको सैन्य तयारीले हरेक क्षेत्रमा अमेरिकाका लागि चुनौती दिने दाबी गरे।
‘चीनको उद्देश्य प्रस्ट छ, त्यसलाई बेवास्ता गरे हामीलाई आपत आइपर्छ,’ ह्यारिसले ‘हाउस आर्म्ड सर्भिस कमिटी’ मा भने। उनी चाँडै सैन्य सेवाबाट निवृत्त भएर राजदूत बन्दैछन्। सिनेटले उनको मनोनयन अनुमोदन गर्नुपर्ने हुन्छ।
‘युद्ध जित्ने र युद्ध निवारकको कुरा गर्ने हो भने म एक सैनिक हुँ। र मेरो विचारमा युद्ध रोक्न प्रयास गर्दागर्दै पनि तपाईंले युद्ध जित्ने स्रोत जुटाउनु निकै महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘अन्ततः युद्ध लड्ने क्षमता नै सबैभन्दा महत्वपूर्ण हुन जान्छ, अन्याथा तपाईं कागजी बाघ साबित हुनुहुनेछ। मलाई आशा छ, चीनसँग युद्धको अवस्था आउनेछैन। तर त्यस्तो अवस्था आइहालेमा पनि हामी त्यसका लागि तयार रहनैपर्छ।’
उनले दक्षिण चीन सागरमा चीनले गरेको सैन्य निर्माणबाट आफू सशंकित रहेको पनि बताए।








