
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४१ औँ प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । वाम गठबन्धनका शीर्ष नेताहरूले ओलीलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गर्न दाबी गरेपछि ओलीलाई प्रधानमन्त्री घोषणा गर्ने तथा आजै शपथ ग्रहण गर्ने तयारी भइरहेको शीतलनिवास स्रोतले जनाएको छ । बुधबार बसेको दुई दलीय एकता संयोजन समिति बैठकले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि आज राष्ट्रपतिसमक्ष दाबी गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष ओली यसअघि ०७२ असोज २४ गते पनि प्रधानमन्त्री भएका थिए । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिने कार्यक्रम रहेको छ ।
विगतमा संसद्बाट मात्र नयाँ सरकार गठन हुने व्यवस्था रहेकोमा नयाँ संविधानले राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्तिसम्बन्धी व्यवस्था गरेको छ । संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । २ सय ७५ सदस्यीय संसद्मा वाम गठबन्धनका पक्षमा १ सय ८४ सिट छ । सरकार गठनका लागि १ सय ३८ सिट चाहिन्छ ।
एकताका लागि टुंग्याउन बाँकी विषयलाई आज बस्ने संयोजन समितिको बैठकले टुङ्ग्याउने बताइएको भने एमाले र माओवादी केन्द्रले क्रमशः तीन र दुई वर्ष प्रधानमन्त्री चलाउने भएका छन् ।








