
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रकृयामा ‘ब्रेक थ्रु’ भएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको बैठकमा महत्वपूर्ण सहमति भएपछि पार्टी एकतासँगै नयाँ सरकार गठनको समेत मार्ग प्रशस्त भएको छ । एमाले उपाध्यक्ष भीम रावलको भनाईमा अबको एक साताभित्र एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् ।
सोमबार शीर्ष बैठकले आगामी सरकारको नेतृत्व ओलीले गर्ने र त्यसमा माओवादीका तर्फबाट समर्थन जनाउने सहमति गरेको छ । बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दलका सबै सांसदहरुको हस्ताक्षर संकलनको थालनी गरेका छन् । प्रधानमन्त्रीमा ओलाीलाई समर्थन गर्ने गरी हस्ताक्षर संकलन गर्न थालिएको एमाले स्रोतले जनायो ।
यसअघि एमाले र माओवादीबीच पार्टी एकता र सत्ता सहकार्यका विषयमा अनेकन टीकाटिप्पणी र आशंकाहरु गरिँदै आएको थियो । माओवादी अध्यक्ष प्रचण्डलाई नेपाली कांग्रेस, राजपालगायतका दल र स्वदेशी–विदेशी शक्तिकन्द्रहरुले ५ वर्ष ढुक्कले प्रधानमन्त्री बन्न प्रलोभनसमेत दिएका थिए ।
यहीबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा सुस्मा स्वराजको नेपाल भ्रमण र गोप्य राजनीतिक मन्त्रणहरुले अझै आशंका बढाएको थियो । सोमबार सम्पन्न दुई शीर्ष नेताहरुको बैठकले यी सबै आशंकालाई समाप्त पारिदिएको छ । अाजको नागरिक दैनिकले खबर छापेको छ ।







