धनगढी । प्रदेश नम्बर ७ को सभामुखमा नेकपा एमालेका प्रदेश सांसद अर्जुनबहादुर थापाको एकल उम्मेदवारी परेको छ । सभामुखमा एकल उम्मेदवारी परेसँगै थापा निर्विरोध निर्वाचित हुने संभावना छ । संसद सचिवालयको निर्वाचन कार्यक्रमअनुसार थापाले शनिवार प्रदेश नम्बर ७ को सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । सभामुखको मनोनयन दर्ता गर्ने समय सकिन लाग्दासम्म थापाको मात्रै उम्मेदावरी दर्ता भएको हो ।
थापाको प्रस्तावकमा एमालेका सांसद तथा कैलाली अध्यक्ष दीर्घ सोडारी र समर्थक प्रस्तावित मुख्यमन्त्री तथा माओवादी नेता त्रिलोचन भट्ट रहेका छन् । दिउँसो ४ बजेसम्म थापाका विरुद्ध कसैले पनि मनोनयन नगरेकोले उनी निर्बिरोध हुने सम्भावना बढेको हो ।
संसद सचिवालयका सचिव मुरारी महतका अनुसार मनोनयनको समय साँझ ५ बजेसम्म छ । नेपाली कांग्रेस स्रोतको अनुसार कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ ।
६२ वर्षका थापाले आफू सभामुख भए निश्पक्षरुपमा संविधान अनुसार काम गर्ने बताए । थापा बझाङको प्रदेशसभा ९क० निर्बाचन क्षेत्रबाट प्रदेश सभामा निर्बाचित भएका हुन् ।








