
जनकपुरधाम । मधेसवादी दलका नेताहरूले संसदमा मातृभाषालाई छोडी हिन्दी भाषा बोलेको भन्दै जनकपुरमा स्थानीयले सांसदहरुको पुत्ला दहन गरेका छन् । प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठकमा मधेसवादी संसदहरुले शुभकामना मन्तव्य दिने क्रममा मातृभाषा छोडी हिन्दी भाषालाई प्राथमिकता दिएको भन्दै विरोधस्वरुप जनकपुरमा युवाहरुले राजपा–फोरमका सांसद्को पुत्ला दहन गरेका हुन् ।
मङ्गलवार जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र रोशन यादवको अगुवाईमा सङ्घीय समाजवादी फोरम र राजपा नेपालका प्रदेशसभा सांसदहरूको पुतला जलाएका छन् ।
केहीबेर नाराजुलुस गर्दै युवाहरुले ‘मातृभाषाको प्रयोग र अन्तर्राष्टिय भाषाको सम्मान गर’ भन्ने नारा समेत लगाएका थिए । पुतला दहनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहीबेर तनाव भएको थियो । प्रदेश नम्बर २ मा मैथिली, भोजपुरी, बज्जिका लगायतका मातृ भाषालाई प्राथमिकता दिनुपर्ने र यी भाषाहरूलाई नै सरकारी कामकाजी भाषा बनाउनुपर्ने उनीहरुको धारणा रहेको छ ।
प्रदेशसभाको पहिलो बैठकमा फोरमका तर्फबाट शुभकामना मन्तव्य राखेका मोहम्मद लालबाबु राउत, राजपाका जितेन्द्र सोनलले हिन्दी भाषाको प्रयोग गरेका थिए । त्यसै गरी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरूले मैथिली भाषामा मन्तव्य दिएका थिए ।








