स्वराजको गुप्त र अघोषित एजेण्डाले नेपाललाई लाभ कि हानी ?

काठमाडौं । दुई दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्किनु भएको छ । विशेष विमानबाट शुक्रबार दिउँसो ३ बजे नयाँ दिल्ली फर्किनु भएको हो । बिहीबार अपरान्ह ४ बजे विशेष विमानबाट नेपाल आउनुभएकी स्वराजले आउने बित्तिकै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।

बिहीबार साँझ नेकपा एमालेले स्वराजको सम्मानका लागि सोल्टि होटलमा रात्री भोजको आयोजना गरेको थियो । एमालेको रात्री भोजमा सहभागि भएर स्वराजले मधेश केन्द्रित दलका नेतालाई बिहीबार बेलुका नै भेटनुभएको थियो ।

शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नु भएकी स्वराजले त्यसपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटनुभएको थियो । स्वराजले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि स्वदेश फर्कनुभएको हो ।
नेपालमा संविधान निर्माणपछि असन्तुष्ट जनाउँदै नाकाबन्दी गरेको भारतले सम्बन्ध सुधार कै लागि यो भ्रमण गरेको बताइएको छ ।

नाकाबन्दीताका नेपालका प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओली हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा पहिलो पार्टी भएपछि फेरी प्रधानमन्त्री बन्ने पक्का जस्तै छ । विशेष गरी भावि प्रधानमन्त्रीसँगको सम्बन्ध सुधारका लागि यो भ्रमण भएको धेरैको आकँलन रहेको छ ।

गुप्त र अघोषित एजेण्डा 

स्वराज भ्रमणका गुप्त एजेण्डा समयले पर्दा खोल्दै जाँदा देखिँदै जाला । अघोषित एजेण्डा चाहिँ लगभग पहिचान गर्न सकिन्छ । अघोषित एजेण्डा भनेको एमाले, केपी ओली र भावी सरकारसँग सम्बन्ध सुधार्नु नै हो । अघोषित एजेण्डा बोक्रा हो, गुदी अर्कै हुन्छ । कूटनीतिमा बोक्रा अनुसारको गुदि हुँदैन । देख्दा एक चिज हुन्छ, छाम्दा अर्काे हुन्छ अनि चाख्दा झन् अर्कै हुन्छ । कूटनीतिको विचित्र लीला यही हो ।

ओली नेतृत्वमा सरकार नबनोस् भन्ने भारतीय चाहना पूरा नहुने अवस्था छ । फलतः सम्बन्ध सुधार भारतको वाध्यता बन्यो । स्वराज आउनु अघि नै पर्दा पछाडि भारत र ओलीबीच अनेक मन्त्रणा पक्कै भएको छ । राजनीति–कूटनीतिमा पर्दा पछाडिको वार्ता सामान्य हो ।

सुष्माको गुप्त एजेण्डा नेपालमा चिनियाँ प्रभाव न्यूनीकरण गर्नु, नेपालमा चिनियाँ रेल र तेलको सम्भावना निस्तेज पार्नु, नेपाललाई आफ्नो प्रभाव र प्रभुत्वमा राख्नु नै हो । र, यसका लागि नेपालमा अस्थिर सरकार चाहिन्छ । यस्तो अस्थिर सरकार जसलाई भारतले अप्ठेरोमा पार्न सकोस्, पर्दा पछाडिबाट गिराउन सकोस् ।

जब आफूले भनेको बाटोमा नेपाल जाँदैन, त्यसबेला सरकार गिराइदिन सकियोस् । कमजोर सरकार भयो भने गिर्ने डरले पनि भारतीय चाहना भन्दा दायाँवायाँ गर्दैन भन्ने भारतीय फर्मूला हो । यिनै हुन् गुप्त एजेण्डा । यी एजेण्डाका अनेक हाँगाबिगा हुन सक्छन्, समयक्रममा खुल्दै जाला ।

प्रधानमन्त्री बन्नबाट रोक्न नसकिएका ओलीलाई फकाउनु र एमाले–माओवादी एकीकरण हुन नदिनु सुष्माको ठोस कार्यभार थियो । ओली सरकारमा कुनै एउटा मधेसवादी दललाई भित्र्याउनु अर्काे कार्यभार हो । ओली कति फकिए ? तल चर्चा गर्दै जाउँला । जहाँसम्म एकीकरणको कुरा छ, भारतले चाहेर या नचाहेर भन्दा पनि दुई पार्टीका मुख्यमुख्य नेताहरुको आन्तरिक स्वार्थले एकीकरण टर्दैछ ।

बलियो नेपाल, कमजोर भारत, झन् बलिया ओली

तीन वर्षमा सातपटक नेपाल आइन् सुष्मा । सधैं बलियो भएर आउँथिन्, हप्कीदप्की गर्दै आउँथिन् । यसपटक नम्र भएर आइन् । किनभने भारत अहिले चीनबाट आतंकित छ र नेपाल चीनसँग नजिक हुने खतरा उसले देखेको छ । चिनियाँ कित्तामा नेपाल जानु भनेको भारतका लागि सुनामी नै हो । सुष्माको भ्रमणको मूल जरा चीनसँग गाँसिएको छ । किनभने भारतको नेपाल नीति चीनलाई ध्यानमा राखेर लक्षित हुन थालिसकेको छ । नत्र थर्काउने भारत फकाउने भारतमा परिणत हुने थिएन ।

गत साताभरी भारतमा रायसिना गोष्ठी चर्चित रह्यो । मुख्यगरी भारत–अमेरिका मोर्चासँग निकट देशका प्रतिनिधिहरुको सो रणनीतिक गोष्ठी चीनको बढ्दो प्रभाव नियन्त्रण गर्नेमा लक्षित थियो । भारतीय विदेश सचिव एस. जयशंकरको कार्यकालको अन्तिम ठूलो काम थियो रायसिना गोष्ठी । गोष्ठीमा जयशंकरले चीनको बढ्दो प्रभाव भारत र विश्व व्यवस्थाका लागि खतरा भएको अभिव्यक्ति दिएका थिए ।

यी उनै जयशंकर हुन् जो संविधान जारी नगर्नु भन्दै धम्क्याउन विशेष दूतका रुपमा नेपाल आएका थिए । उनकै प्रशासनिक नेतृत्वमा नाकावन्दी भयो । जयशंकरकै पालामा नेपाल चीनसँग निकट हुन वाध्य भयो, पारवहन र वेल्ट एण्ड रोड परियोजना सम्झौता भयो । जयशंकरकै पालामा वाम गठवन्धन बन्न नदिने र बनेको गठवन्धनलाई चुनाव जित्न नदिने खेलो फड्को भयो । र, उनकै पालामा नेपाल फकाउने, ओली फकाउने रणनीति बन्यो । तर, सुष्माको साथमा जयशंकर आएनन्, अवकाश पाइसकेका थिए, विदेश सचिवका रुपमा विजय गोखले नेपाल आए ।

जुन तरिकाले भारतले नेपाल फकाउने प्रयाश गरिरहेको छ, त्यसलाई हेर्दा जयशंकर पदमै थिए भने पनि सुष्माको साथमा नआउन सक्थे । जयशंकरलाई उपस्थित गराउनु भनेको एक ढंगले नेपाललाई जिस्काउनु जस्तै हुने थियो ।

तथापि, पात्रहरुको परिवर्तनले भारतीय रणनीतिलाई धेरै फरक पर्दैन, पात्र परिवर्तनले विदेश मामिलामा ठाडै असर पर्ने नेपालमा हो । पात्र फेरिएर मात्र होइन, पात्रको नियत फेरिएर समेत नेपालको विदेश नीतिमा असर पर्ने गरेको छ । ओलीको अब नियत फेरिन्छ ? सुष्माको भ्रमणसँगै मुख्य रुपमा उठेको प्रश्न यही हो ।

सुष्मासँग ओली दह्रैसँग उभिए होलान् भनी आँकलन गर्न सकिने आधार अनेक छन् । किनभने ओलीले पनि पक्कै बुझेका छन्, भारत अहिले कमजोर अवस्थामा छ, भारतलाई नेपालको साथ चाहिएको छ । आफूलाई फकाउनै आएकी हुन् भन्ने ओलीले नबुझ्ने कुरै भएन ।

विगतमा कमजोर अवस्थामा हुँदा त ओलीले भारतसँग त्यसरी अडान लिएका थिए भने अहिले उनी बलियो अवस्थामा छन् । भारतले अनेक तगारो लगाउँदा पनि ओलीलाई रोक्न सकेन । ओलीको स्वभाव हेर्दा पनि उनी लक्पकाएनन् भनी लख काट्न सकिन्छ । र, सुष्माको तुफानी भ्रमणको क्रममा ओलीबाट यस्तो कुनै संकेत चुहिएको छैन जसबाट उनी लड्खडाए भन्न सकिन्छ ।

अर्थात्, ओली बलिया छन् । तर, भारत कमजोर छ । विगतभन्दा भारत कमजोर भएको होइन, चीनको शक्ति र सामथ्र्य बढेको हुनाले भारतको अवस्था कमजोर बन्न पुगेको हो । भारतलाई नेपालको साथको आवश्यकता छ । सुष्माको भ्रमणलाई यो सन्दर्भबाट बाहिर राखेर हेर्न सकिन्न ।

सम्बन्धित शिर्षकहरु