
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कालो धनलाई वैध बनाउन दिने भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई गलत भएको जिकिर गरेका छन् । कानुनअनुसार नै चल्नुपर्ने बताउँदै वैध अवैधका बारेमा कसैले बोल्दैमा केही नहुने महतले बताए ।
‘कानुनभन्दा बाहिर गएर कुनै पनि धनलाई सेतो बनाउँन सकिदैन । कालो धनलाई सेतो बनाउने मनी लाउन्डरिङ गलत छ,’ महतले भने, ‘उहाँले कुन सन्दर्भमा भन्नुभयो थाहा छैन । तर कालो धनलाई सेतो बनाउँछु भन्नु सरासर गलत हो ।’
नेपालको नेतृत्व कति परिपक्व छ भन्ने कुरा यस्तै अभिव्यक्तिले देखाउँछ भन्दै महतले ओलीको कटाक्ष गरे । ‘नेपालको राजनीतिक नेतृत्व कति सुझबुझपूर्ण, कति परिपक्व र कति दुरदर्शी रहेछ भन्ने यसले देखाउँछ । हल्का फुल्का टिप्पणी गरेर देशको सुशासन चल्दैन,’ महतले भने ।
भावी प्रधानमन्त्रीका रूपमा देखिएका व्यक्तिले यसप्रकारको टिप्पणी गर्नु दुखद भएको महतले बताएका छन् । जसले जहाँबाट पैसा ल्याएपछि कानुनबमोजिम ल्याएको भए वैध र कानुनविपरित भए अवैध हुने कुरामा स्पष्ट हुनुपर्ने महतले बताएका छन् । ‘विधिसम्मत तरिकाले पैसा ल्याएको छ भने त्यसलाई अनावश्यक आरोप लगाउनु जरुरी छैन । विधिसम्मत छैन भने प्रश्न उठ्न सक्छ,’ महतले भनेका छन् ।








