
काठमाडौं । शहीद दिवसको दिन मंगलबार विहानै नेपाली कांग्रेसका युवा नेताहरूले काठमाडौंको नयाँ बानेश्वर चौकमा सर्वसाधारणका जुत्ता पालिस गरेर पार्टी नेतृत्व र शुभेच्छुकहरूको ध्यान आफूतिर तान्ने प्रयास गरेका छन् । कांग्रेस नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले सडक छेउमा लहरै बसेर पैदलयात्रुको जुत्तामा पालिस गरे ।
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले सहिद दिवसको अवसर पारेर यो प्रतिकात्मक कार्यक्रम गरेको हो । ‘नेपालको राजनीति फोहोर भएको छ । जुत्ता पालिस गरे झै राजनीति पनि शुद्धीकरण गर्नुपर्छ भन्ने हाम्रो अभियान हो’ कांग्रेस नेता धनराज गुरुङले भने ।प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले हार व्यहोरेपछि कांग्रेसका दोस्रो तहका नेताहरु पार्टी नेतृत्वमा परिवर्तन हुनु पर्ने माग गर्दै आएका छन् ।
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले केही समय अगाडि बाडेगाउँस्थित आश्रममा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनाएर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूको अपमान गरेको थियो ।








