‘मधेशी दलसँग सहकार्य गर्नका लागी तयार छाैँ’

काठमाडौँ । एमाले महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग सहकार्य गर्नका लागी अाफुहरू तयार रहेको बताएका छन् । अखिल नेपाल महिला संघले आज काठमाडाैँमा अायोजना गरेको स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिने कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको बताएका हुन् ।

सहमति भएमा मधेशी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन तथा प्रदेश नं २ मा मधेशी दलको नेतृत्वमा सरकार बनाउन पनि पार्टीले समर्थन गर्न सक्ने उनले बताएका छन् । “हामीलाई जुन प्रकारले मधेश विरोधी भनेर चिनाउन खोजिएको छ, त्यो गलत हो, हामी जायज मागमा संशोधन र सहकार्यका लागि तयार छौँ ।” महासचिव पोखरेलले भने, “औचित्यले पुष्टि गरेमा शक्ति सन्तुलनको विन्यासका आधारमा संविधान संशोधन सधैँ खुल्ला रहन्छ ।”

माओवादी केन्द्रसँगको पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढे पनि दुवैलाई एउटै सन्दर्भमा जोड्न नमिल्ने धारणा पनि उनले व्यक्त गरेका छन् । पार्टी एकतापछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमा आलोपालो नेतृत्व भन्ने सवाल नरही नेताको कार्यविभाजन हुने उनले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु