शनिबारदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधन दिउँसो पनि बन्द गरीने

काठमाडौं । भोली शनिबारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द गरेर  दिउँसै काम गरिने भएको छ । रातको समयमा भन्दा दिउँसो कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय लिएका हुन् ।

यसअघि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएपनि आज राति भने सडक नरोकिने बताइएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ ।

घुमाउनेमा २ सय मिटर, चेपाङ डाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ । हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिउँसो सवारी रोक्ने ठाउँको निर्धारण गरेको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा रोकिने तथा बस र साना सवारीलाई जुगेडी र दासढुंगामा रोकिने बताइएको छ । काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेवाटारमा रोकिने छ भने पोखरातर्फबाट आउने बस र साना सवारीलाई बेनिटार र ट्रकलाई आँबुखैरनीमा रोकिने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित शिर्षकहरु