
काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङले एमाले र माओवादी केन्द्र एकता निष्कर्षमा पुगिरहेको बताएका छन् । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले शनिबार काठमाडौंमा ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्रिया कार्यक्रममा उनले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एक हुने बताए ।
संविधानको गलत व्याख्या गरेर नयाँ सरकार गठनको गतिरोध हट्न नसकेको उल्लेख गदै उनले भने, ‘संविधानको कमजोरीले नयाँ सरकार गठनमा अड्चन आएको भनेर व्याख्या गरियो । गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन । हाम्रौ कमजोरी हो ।’
संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेम्वाङले संविधानले अधिकार र कर्तत्वमात्र बाँड्ने भन्दै ती संविधानले दिएका अधिकार र कर्तत्वको परिपालन वुद्धि विवेक र क्षमताले नगर्दा अहिलेको नयाँ सरकार गठनमा गतिरोध आएको बताए । उनले राष्ट्रियसभाको निर्वाचनपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या घट्ने दाबी गरे ।








