
काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच अाज ३ घण्टा लामो वान टु वान छलफल भएको छ । दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म ओली निवास बालकोटमा भएको बैठकमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भएको छ ।
सरकार गठन भन्दा अगाडि नै पार्टी एकता गर्ने सहमति दुई नेताहरु बीच भएको बताईएको छ र त्यसका लागी भोलि दुई पार्टीमा आन्तरिक छलफल गरी पर्सि एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।
देउवा नेतृत्वको सरकारले बुधबार गरेको प्रदेश प्रमुखको नियुक्तीका विषयमा दुई पार्टीले साझा धारण बनाएर सार्वजनिक गर्ने दुई नेताहरुवीच सहमति भएको छ । यसैगरी पार्टी एकताका लागि संगठनात्मक संरचना कस्तो बनाउने भन्ने बारे, सरकार गठन विधि, प्रक्रिया, मन्त्री फाँडफाँड लगायतका विषयमा ओली र प्रचण्डबीच छलफल भएको जनाइएको छ ।
एकतापछि बन्ने नयाँ पार्टीको वैचारिक र संगठनात्मक दाँचा, नीति सिद्धान्त र कार्यनीति तथा संयुक्त कार्यदलले ७० र ३० आधारमा राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउन प्रस्तावका बारेमा पनि दुवै पार्टीका अध्यक्षबीच छलफल भएको बताइएको छ ।








