खेलाडी हिर्काउने रेफ्रीलाई कारबाही

एजेन्सी । खेल जारी रहँदा खेलाडीलाई खुट्टाले हान्ने रेफ्री टोनी चाप्रोन निलम्बनमा परेका छन् । फ्रेन्च फुटबल एसोसिशन रेफ्री टोनीलाई थप अनुसन्धान नहुने बेलासम्मका लागि निलम्बित गरेको हो । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) र नान्टेसबिचको नान्टेसका खेलाडीलाई खुट्टाले हानेपछि चाप्रोनको चर्को आलोचना भएको थियो ।

उनले आफूले खराब तरिकाले प्रतिक्रिया दिएको भन्दै गल्ती स्वीकार गरेका हुन् । खेलको इन्जुरी समयका नान्टेसका डिफेन्डर डिएगो कार्लोस र रेफ्री टोनी चाप्रोन ठोक्किएका थिए । कार्लोससँग ठोक्किएका रेफ्री चाप्रोन मैदानमा लडे । लगत्तै रेफ्रीले नान्टेसका खेलाडीलाई खुट्टाले हानेर रातो कार्ड देखाएका छन् ।

उनले उठ्दै गर्दा अवस्थामा नान्टेसका डिफेन्डर कार्लोसलाई खुट्टाले हानेका थिए । खेलाडी हिर्काएसँगै खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाएका कार्लोसलाई दोस्रो पहेँलो कार्ड देखाए । त्यसपछि गोजीबाट रातोकार्ड निकालेर कार्लोसलाई देखाएपछि उनी मैदानबाट बाहिरिन बाध्य भए ।

मैदानमा झुक्किएर ठोक्किएर लडेका रेफ्री आफैले खेलाडीलाई हिर्काउने अनि रातो कार्ड देखाउने गरेपछि उनको चौतर्फी आलोचना भएको थियो ।

सम्बन्धित शिर्षकहरु