राजनीतिक चलखेलमा सक्रिय देखिने महरा र पुन पार्टी एकतामा किन निष्क्रिय ?

काठमाडौं । केपी ओली नेतृत्वको बेलामा सरकार ढाल्न बारम्बार दिल्ली धाएका कृष्णबहादुर महरा यतिखेर आश्चर्यजनक निष्क्रियताका साथ बसेका छन् । ओली सरकार ढाल्न त्यसैगरी सक्रिय भएका वर्षमान पुन रहस्यमय तरिकाले मौन छन् । बरु जनाद्र्धन शर्मा, देवेन्द्र पौडेल लगायतका नेताहरु दिनदिनै एमाले नेताहरुसँगको छलफलमा छन् ।

पौडेलले त एमालेका माधव नेपाल, झलनाथ खनाललाई समेत भेटेर पार्टी एकताको गाँठो फुकाउने प्रयास गरेका छन् । पौडेलले राष्ट्रपति विद्या भण्डारीलाई समेत भेटेर छलफल गरेका छन् । एमालेका दोस्रो तहका नेताहरुसँग पनि शर्मा र पौडेल नियमित सम्पर्कमा छन् । तर, अरु बेला हरेक राजनीतिक चलखेल, वार्ता र मोलमोलाइका चरणमा सक्रिय देखिने महरा र पुन यतिखेर अपेक्षितरुपमा सक्रिय छैनन् ।

कारण जेसुकै होस्, उनीहरुको शिथिलताले माओवादीभित्रै एमालेसँगको एकता र सहकार्यप्रति अनिच्छुक जमात प्रशस्तै रहेको संकेत गर्छ । वास्तवमा माओवादी नेतृत्वको यो दोस्रो पंक्ति एमालेसँग भन्दा कांग्रेसलगायतका शक्तिहरुसँग सहकार्य गर्दा आफ्नो पोल्टामा ठूलो भाग पर्ने आकलनमा छ । यस्तै खालको गैरएमाले गठबन्धनका निम्ति पृष्ठभूमिबाट प्रोत्साहित गरिरहेका शक्तिहरुलाई माओवादीको यही खेमालाई प्रभाव पारिरहेको अनुमान माओवादी नेताहरुले नै गरिरहेका छन् ।

आजका मितिसम्म माओवादी अध्यक्ष प्रचण्ड बाम गठबन्धन र एकताप्रति प्रतिबद्ध नै छन् । अबका प्रधानमन्त्री ओली नै बन्ने र पार्टी एकता भइछाड्ने भन्ने कुरामा उनमा खासै दुविधा पनि छैन । तर, उनलाई डग्मगाउने स्थितिमा पुर्याउन सक्ने एउटा तप्का मजैले तयार भएको छ । यसको प्रमाण हो, पार्टीका प्रभावशाली नेताहरु वार्ताप्रति निष्क्रियता प्रकट गर्नु ।

सम्बन्धित शिर्षकहरु