
काठमाडौं । एमाले नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली नै हुने जिकिर गरेका छन् । अाज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले सरकारको नेतृत्व आलोपालो नहुने पनि बताएका छन् । उनले भने,‘आलोपालो हुँदैन, पूरा पाँच वर्ष केपी ओली नै सरकार चलाउनुहुन्छ, यसमा कुनै दुई मत छैन, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष दुवै ओली बन्नपनि सक्नुहुन्छ, अहिले हामी छलफलमा जुटेका छौं।’
पार्टीको अध्यक्षमा ओली बाहेक गठबन्धनमा आवद्ध शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधव नेपालपनि बन्न सक्ने संभावना भएपनि अध्यक्ष र प्रधानमन्त्री दुव् ओली नै बन्ने उनको विश्वास छ । नेता पण्डितले गठबन्धनमा रहेका नेताहरुलाई उचित किसिमले व्यवस्थापन गर्नेबारे पनि अहिले छलफल चलिरहेको बताए । उनले भने,‘हिजो चुनावमा तालमेल गर्दा पनि एउटा मापदण्ड बनाएर हामी भाग लिएका थियौं, अब एकताको लागि पनि विशेष मापदण्ड बनाएर छलफलमा जुट्छौं, यति हो कि सबै नेताहरुको उचित व्यवस्थापन हुन्छ, यसमा कुनै द्धिविधा र दुई मत छैन्।’
उनले सरकार गठनपछि मात्रै पार्टी एकता हुने पनि जनाए । नेता पण्डितले वाम गठबन्धनलाई जनताले विश्वास गरेर मत दिएको भन्दै जनताको जीवनस्तर उकास्ने र मुलुकलाई समृद्ध बनाउनेगरि अबको सरकारले काम गर्ने बताउँदै अब सरकार गिराउने र बनाउने खेलको अन्त्य भएको बताए ।
उनले भने, ‘सरकार हस्तान्तरण गर्न धेरै ढिलाई नहोस्, यो समय धेरै नलम्बियोस् भन्ने हाम्रो कामना छ, यदि यस्तै समय लम्बिरह्यो भने कांग्रेसलाई दण्डनीय हुने अवस्था आउन सक्छ, म त्यस्तो दिन नओस् भनेर कामना गर्छु।’








