‘म कुलघरानाको होइन,हलो जोतेको, कोदालो खनेको मान्छे हुँ, मसँग कुनै दम्भ छैन्’

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलहरुको सहमतिमा नै संविधान लेखिएकाले संविधानमा लेखिएको चुनावी प्रणाली मान्दिन भन्न नमिल्ने बताएका छन्। सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली काँग्रेसतर्फ लक्षित गर्दै खेल सकिएर एउटाले जितेर विजयको हात हल्लाएपछि अर्कोले खेलको नियम मान्दिन भन्न नहुने बताए।

उनले भने “हामी आफैँले बनाएको प्रणालीलाई सर्वस्वीकार्य बनाउनुपर्छ।” आफू शासक नभएको र आफूमा कुनै पनि खालको दम्भ नभएको अध्यक्ष ओलीले दाबी गर्नुभयो । एउटा सामान्य किसान परिवारमा जन्मे हुर्केको उनले बताए। उनले भने, “म कुलघरानाको होइन, घाँस काटेर, भकारो सोहोरेर हुर्किएको हो, ममा कुनै दम्भ छैन।”

अध्यक्ष ओलीले कृष्णप्रसाद भट्टराईले एउटा युग र परिवर्तनको नेतृत्व गरेको स्मरण गरे। राणाकालको कष्टकर समयमा समेत परिवर्तनका लागि लागेको भन्दै उनले भट्टराईको प्रशंसा गरे।

उनले भने, “अप्ठेरो समयमा पनि भट्टराईले समयको साक्षी मात्रै होइन त्यो समयलाई अघि बढाउन भूमिका पनि खेल्नुभयो।” नागरिकले आफ्नो देशप्रति गर्व गर्दा मात्रै देश अघि बढ्नसक्ने उनको जिकिर थियो ।

सम्बन्धित शिर्षकहरु