काठमाडौं । निर्वाचन सम्पन्न भएको तीन हप्तापछि निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ दलहरुले प्राप्त गरेको प्रदेशअनुसार सिट बाँडफाँड गरेको छ । आयोगले पत्रकार सम्मेलन गर्दै दलहरुले प्राप्त गरेको मतको आधारमा सिट वितरण सार्वजनिक गरेको हो ।
समानुपातिक तर्फको जम्मा सिटमा पनि नेकपा एमाले नै पहिलो दल भएको छ । आयोगका अनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेस ७२, माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ सिट पाएका छन्।
यसैगरी राप्रपा र विवेकशील साझा पार्टी ३र३, जनमोर्चाले २, नयाँ शक्तिले १ सिट र नेमकिपाले १ सिट प्राप्त गरेका छन् ।
प्रदेश नम्बर २ मा नेपाली कांग्रेसले ११ सिट, राजपाले १०, सघीय समाजवादी फोरमले ९, एमालेले ७ र माओवादीले ५ सिट पाएका छन् भने नेपाल सघीय समाजवादी पार्टीले १ सिट प्राप्त गरेका छन्।
प्रदेश नम्बर ३ मा एमालेले १६ सिट पाएको छ भने कांग्रेसले १४ र माओवादीले ८ सिट प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीले ३ सिट र नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले एक एक सिट प्राप्त गरेका छन्।
प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक एक सिट पाएका छन्। प्रदेश नम्बर ५ मा एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, सघीय समाजवादी फोरमले २, राजपाले १ र राजमोले १ सिट पाएका छन्।
प्रदेश ६ मा एमालेले ६, कांग्रेसको ५, माओवादीको ४ सिट छ भने राप्रपाको १ सिट छ। प्रदेश नम्बर ७ मा एमालेको ८, कांग्रेसको ८ र माओवादीको ४ सिट र राजपाको एक सिट छ।
प्रदेशसभामा समानुपातिकतर्फ कुल २ सय २० सिटमध्ये ठूला दलबाहेक ५ वटा दलले १-१ सिट एउटा दलले २ सिट र २ वटा दलले ३ सिट प्राप्त गरेका छन्। नयाँ पार्टीका रुपमा उदाएको विवेकशील साझा र कमल थापा नेतृत्वको राप्रपाले प्रदेशसभामा समानुपातिकतर्फ ३-३ सिट पाएका हुन्। विवेकशील साझाले प्रदेश ३ मा मात्र ३ सिट पाएको हो भने राप्रपाले प्रदेश १, ३ र ६ मा १-१ सिट प्राप्त गरेको हो।
यसैगरी, राष्ट्रिय जनमोर्चाले प्रदेश ४ र ५ मा १-१ सिट गरी प्रदेशसभामा २ जना सांसद पाएको छ। कमल थापासँगै विभाजन भई अलग बनेको राप्रपा प्रजातान्त्रिकले ६ वटा प्रदेशमा कुनै पनि सिट प्राप्त गर्न सकेन। उसले ३ नम्वर प्रदेशमा मात्र १ सिट पायो।
यस्तै, प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले पनि समानुपातिक तर्फ १ सिटमा पाएको छ। ३ नम्बर प्रदेशमा उसले एक सिट पाएको हो। प्रत्यक्षतर्फ प्रदेशसभामा २ सिट जितेको नयाँ शक्तिले समानुपातिक तर्फ १ सिट मात्र पाएको हो। प्रदेश ४ मा नयाँ शक्तिले १ सिट प्राप्त गरेको हो।
कुमार लिङदेनको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ मा १ सिट प्राप्त गरेको छ भने उपेन्द्र यादवसँग अलग भएका रिजवान अन्सारीको पार्टी नेपाल संघीय समाजवादी पार्टीले प्रदेश २ मा १ सिट प्राप्त गरेको छ।









