के भन्छन् बामदेवलाई हराएका नेता सञ्जय गौतम

काठमाडौं ।प्रतिनिधि सभा निर्वाचनमा एमालेका नेता बामदेव गौतमलाई पराजित गरेका कांग्रेस नेता सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त प्रमुख प्रतिपक्षमा बस्नेगरि तयारी गर्नुपर्ने बताएका छन् । गौतमले भने,‘अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, हामीले अब त्यही अनुसारको तयारी गर्नुपर्छ।’

काठमाडौंमा संवाददाताहरुसँग कुरा गर्दै गौतमले कांग्रेस सरकार छाड्ने उपयुक्त समयको प्रतिक्षामा रहेको पनि खुलाए । उनले मुलुकमा अहिले नयाँ परिवेश र परिस्थिति सिर्जना भएकोले उपयुक्त वातावरण बनाएर सरकार छाड्ने बताए।

राष्ट्रपतिसमक्ष रहेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश सरकारले विधिसम्म्त, प्रक्रियागत र संवैधानिक रुपमै प्रस्तुत गरेको उल्लेख गर्दै सिंचाई मन्त्री गौतमले भने,‘हामीले राष्ट्रपतिकहाँ पठाएको अध्यादेश कानूनसम्म्त, विधिसम्मत् र परम्परागत रुपमै आएको छ, यसलाई अनावाश्यक किसिमले लम्ब्याउने काम नहोस्, यसरी लम्ब्याउँदा संविधान नै डिरेल गर्न लागिएको भन्ने शंका उत्पन्न भएको छ।’

मुलुकलाई केन्द्रमा राखेर सबै पार्टीले सोच्नुपर्ने बताउँदै उनले भने,‘तर एमालेका नेताहरुले आफूलाई अलिक बढि नै एरोगेन्ट देखाउनुभएको छ, यो विषयमा मध्यममार्गी बाटो अपाउनकोलागि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भूमिका खेल्नुपर्छ, खासगरी सरकार र दलवीच सम्बाद सुचारु गर्न उहाँको भूमिका यतिवेला खाँचो छ।’

एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका नेता गौतमले आफू कामको हेभीवेट भएको सुनाए । उनले भने,‘नामको हेभीवेटले हुँदैन, म त कामको हेभीवेट हुँ, मलाई बर्दियाको माटोले पत्याउँछ भन्नेमा सुरुदेखि नै विश्वास थियो, मलाई पनि पार्टीले उचित मूल्यांकन गर्छ।’

सम्बन्धित शिर्षकहरु