शोक समारोहमा भागदाैड हुँदा दशको मृत्यु, कैयाै‌ं घाइते

ढाका । बङ्गलादेशमा एक जना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड हुँदा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

बङ्गलादेशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ सहरमा सोमबार भएको घटनामा अन्य ५० जना घाइते भएका छन् । चिट्टागोङ महानगर प्रहरीका प्रमुख इक्वाल बाहारले घटनामा परी दश जनाको मृत्यु भएको पुष्टि गरे ।

घाइतेमध्ये दश जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए । चिट्टागोङमा रहेको रिमा कम्युनिटी सेन्टरमा शोकका लागि भेला भएकाहरूबीच भागदौड भएको हो । सो ठाँउमा विषेश गरेर गैरमुस्लीम मानिसहरुका लागि खानाको समेत व्यवस्था गरिएको थियो ।

मृत्यु भएका मध्ये अधिकांशको भीडमा अक्सिजनको कमी भै श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ । प्रधानमन्त्री सेख हसिनाको सत्तारुढ दल बङ्गलादेश अवामी लिग पार्टीका नेता एविएम मोहिउद्धिन चौधरीको निधनमा उनीहरू शोक व्यक्त गर्न भेला भएका थिए ।

चिट्टागोङका मेयर समेत भइसकेका चौधरीको यही डिसेम्बर १५ तारिखका दिन निधन भएको हो । उनी झण्डै पाँच दशकदेखि राजनीतिम सक्रिय थिए । रासस

सम्बन्धित शिर्षकहरु