
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र फसमानुपातिकतर्फ दुवैमा नेकपा एमालेले पहिलो बन्न सफल भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत ल्याएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख ६० हजार ८ सय ५० मत प्राप्त गर्दा माओवादी केन्द्रले १२ लाख ७३ हजार ७ सय ७१ मत पाएको छ भने संघीय समाजवादी फोरमले ४ लाख ५९ हजार ७१, राजपाले ४ लाख ४७ हजार ५ सय २९, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ४ सय ९३, राप्रपाले १ लाख ९३ हजार ८ सय ७२, राप्रपा प्रजातान्त्रिकले ८७ हजार ४ सय ८१, नयाँ शक्ति पार्टीले ८० हजार ६ सय ९३ र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४५ मत हाँसिल गरेका छन् ।
अन्य दलहरूले ३ लाख ४७ हजार ६ सय ८५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत ल्याउने पार्टीलाई राष्ट्रिय दलका मान्यता दिने व्यवस्था छ । यस नतिजासँगै पाँच वटा पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।
व्यवस्थाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका हुन् । गएको निर्वाचनमा समानुपातिकतर्फ ४९ दलले सहभागिता जनाएका थिए ।








