समानुपातिकको मतगणना अन्तिम चरणमा,तत्काल सार्वजनिक नहुने,यस्तो छ कारण

काठमाडौं । पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, नेकपा एमालेले ३० लाख ७३ हजार, नेपाली काँग्रेसले २९ लाख ९९ हजार, नेकपा (माओवादी केन्द्र)ले १२ लाख ४४ हजार र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५२ हजार मत प्राप्त गरेको छ ।

यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले चार लाख ३२ हजार, विवेकशील साझा पार्टीले दुई लाख नौ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९२ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको हालसम्म ९१ लाख ६१ हजार ८२८ मतगणना पूरा भएको आयोगले जनाएको छ ।
राष्ट्रियसभाको निर्वाचन र प्रदेश प्रमुख नतोकिएसम्म समानुपातिकको नतिजा सार्वजनिक नहुने
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि समानुपातिकतर्फको नतिजा राष्ट्रियसभाको निर्वाचन र प्रदेश प्रमुख तोकिएपछि मात्रै गरिने भएको छ । त्यसले गर्दा निर्वाचन आयोगको औपचारिक निर्णय लम्बिने भएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि तयार भएको अध्यादेश राष्ट्रपति कार्यालयमा अल्झिएको छ ।

कुन निर्वाचन प्रणालीका आधारमा राष्ट्रियसभाको चुनाव गर्ने भन्ने बारेमा निर्णय भएको छैन ।

यसमा पनि राजनीतिक दलहरुबीच विवाद देखिएको छ । कांग्रेसले एकल संक्रमणीय प्रणालीका आधारमा निर्वाचन हुनुपर्ने बताएको छ भने एमाले र माओवादी केन्द्रले बहुमतीय आधारमा हुनुपर्ने अडान राखेका छन् ।

कांग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीय प्रणालीका आधारमा निर्वाचन हुने भन्दै अध्यादेश जारी गर्दै अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

सम्बन्धित शिर्षकहरु