काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको मतगणना आजै सकिने निर्वाचन आयोगले जनाएको छ। जारी मतगणनाको अन्तिम अवस्थासम्म आइपुग्दा केन्द्रीय संसदमा मात्र ५ दलले मात्रै राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने देखिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबैभन्दा धेरै मत ल्याएको छ।
प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा समानुपातिकमा ३ प्रतिशत पुर्याए मात्र राष्ट्रिय पार्टी बन्न सक्छ। प्रत्यक्षतर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा ३ प्रतिशत पुर्यामा प्रतिनिधित्व त पाउनेछ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउनेछैन।
प्रत्यक्षमा एक सिट जितेका नयाँ शक्ति पार्टी, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिकमा पाएको मत १ प्रतिशतभन्दा तल देखिएकाले र अब गणना पनि धेरै बाँकी नरहेकाले ती दल राष्ट्रिय पार्टीको सूचीमा अटाउनेछैनन्। त्यस्तै नयाँ शक्तिवाट माननीय बन्ने करिश्मा नायिका करिश्मा मानन्धरको सपना अधुरै हुने भएको छ । नयाँ संविधानमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्था छ, राष्ट्रिय दल बन्न एक जना उम्मेदवारले प्रत्यक्षतर्फको निर्वाचनमा जित्नैपर्ने र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनैपर्ने।
अब बाबुराम भट्टराई पनि स्वतन्त्र
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैको आशा पार्टी अध्यक्ष बाबुरामको निर्वाचन क्षेत्र गोरखा २ मा थियो। निकै रोमाञ्चक प्रतिस्पर्धामा बाबुरामले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई हराए। बाबुरामको विजय जुलुसमा सहभागी हुन करिश्मा समेत गोरखा पुगेकी थिइन्। अब नयाँ शक्तिलाई राष्ट्रिय पार्टी बन्न समानुपातिकमा ३ प्रतिशत मत ल्याउनुपर्ने थियो। करिश्माको सांसद बन्ने अवसर त्यसमै अड्किएको थियो।
कुनै बेला मुलुककै सबै भन्दा ठुलो राजनीतिक दलको दोश्रो बरियताको नेता हुँदै प्रधानमन्त्री बन्न सफल भएका डा। बाबुराम भट्टराई अब स्वतन्त्र सांसदमै सिमित भएका छन् । डा। भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले समानुपातिक तर्फ ३ प्रतिशत मत नपाउने पक्का भएसँगै अब उनी स्वतन्त्र सांसदको हैसियत लिएर संसद भवन प्रवेश गर्नेछन् ।
स्वतन्त्र सांसदलाई संसदिय दलको कार्यालय, कर्मचारी र सवारी साधनको सुबिधा हुन्न । यस अघि एक सिटे दलहरुले पनि संसदिय दलको कार्यालय, कर्मचारी र सवारी साधनको सुबिधा प्राप्त गर्दै आएका थिए । प्रत्यक्ष तर्फ १ सिट र समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाउने दलले मात्रै दलिय हैसियतमा संसदमा प्रतिनिधित्व गर्न पाउँछन् । नयाँ शक्तिका संयोजक डा। भट्टराईले प्रत्यक्षमा निर्वाचन जितेको भएपनि उनको दलले ३ प्रतिशत मत भने ल्याउन नसक्ने स्पष्ट संकेत देखिएको छ । अब उनलाई व्यवस्थापिका संसदमा स्वतन्त्र सांसदको हैसियतमा व्यवहार गरिनेछ ।
बाबुरामसहित नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङदेन पनि स्वतन्त्र हैसियतकै सांसद हुनेछन् । यी सांसदको पार्टीहरुले पनि समानुपातिक तर्फ ३ प्रतिशत मत पाउन नसक्ने स्पष्ट भैसकेको छ । त्यस बाहेक माओवादी केन्द्रसँग बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका छक्क बहादुर लामा पनि स्वतन्त्र सांसद नै रहनेछन् ।
राप्रपा र विवेकशील अटाएनन्
संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान तोकिएको छ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबैभन्दा धेरै मत ल्याएको छ। शुक्रबार बिहान ८ बजेसम्म ८६ लाख ८३ हजार ३४६ मत गणना भएको छ। आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो। गणनाअनुसार एमाले, कांग्रेस र माओवादी केन्द्रबाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्रै समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने देखिन्छ।
समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ। राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन्। समानुपातिकतर्फ गणनामा अहिलेसम्म एमालेले २९४०९१३ अर्थात३३.८७ प्रतिशत मत पाएको छ। कांग्रेसले २८५८४९३ अर्थात ३२.९२ प्रतिशत मत पाएको छ। माओवादीले ११८३७०२ अर्थात१३.६३ प्रतिशत मत ल्याएका छन्। यस्तै, फोरमले ४१६५३३ अर्थात ४.८० प्रतिशत मत ल्याउँदा राजपाले ३७९२७८ अर्थात ४.३७ मत ल्याएको छ।
गणना नसकिँदै कुन–कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने निर्वाचन आयोगले बताएको छ। समानुपातिकतर्फ ४र५ प्रतिशत हाराहारीमा मत बदर हुने अनुमान गरिएको छ। समानुपातिकको सिट बाँडफाँट गर्दा सदर भएको मतको ३ प्रतिशतभन्दा कम ल्याएका दलको मतलाई गणना गरिने छैन। ३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिट बाँडफाँट हुनेछ। समानुपातिकमा ३ प्रतिशत नकटाउने दलले एउटा पनि सिट पाउनेछैनन्।








