म्यानमारलाई ३३७ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारमाथि ३३७ रनले विजयी प्राप्त गरेको छ । यो जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले दिएको ३५१ रनको लक्ष्यमा म्यानमारले ११.३ ओभरमा सबै विकेटको क्षतिमा केवल १३ रन मात्र बनाउन सक्यो । नेपालको बलरसामु म्यानमारका सबै खेलाडी दोहोरो रन बनाउन असफल रहे । म्यानमारले बनाएको यो १३ रनको स्कोर जारी प्रतियोगिताकै सबैभन्दा कम रन हो साथै उमेर समूहको खेलमा यति ठूलो अन्तरमा विजय हुनु नेपालको लागि पहिलो पटक हो ।

नेपालको यो शानदार जीतका लागि बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नारायण जोशी र मेखबहादुर सेन थापाले ४–४ विकेट लिए थिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रित गौतमले शतकीय पारी खेलेपछि नेपालले म्यानमारलाई फराकिलो चुनौती दिन सफल भयो । यसैगरी नेपालका तृतराज दास र प्रतिश जिसीले अर्धशतकीय पारी खेलेपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३५० रन बनाएको थियो ।

नेपालको उच्च योगफलका लागि रितले ७८ बलमा १२ चौकासहित अविजित १०६ रन बनाए । अघिल्ला दुई खेलमा कमजोर प्रदर्शन गरेका उनले म्यानमारविरुद्ध शतक बनाउँदै नेपाली यु–१६ को उमेर समूहमा शतक बनाउने पहिलो नेपाली खेलाडी बने ।

यस्तै प्रतिशले पनि म्यानमारविरुद्ध आक्रामक ब्याटिङ्ग गर्दै ३१ बलमा १० चौका र १ छक्काको ६३ रन बनाउँदै अविजित रहे । तृत राज दासले २९ बलमा ६४ रन जोडेर अर्धशतक बनाए भने विशालविक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास आयरले १७ रन जोडे । नेपालविरुद्ध म्यानमारका हेइन हेट एङले ३ विकेट लिएका थिए । अब अर्को खेलमा नेपालले सेमिफाइनलमा मलेसियासँग र हङकङले सिंगापुरसँग खेल्नेछ ।

सम्बन्धित शिर्षकहरु