अष्ट्रेलिया । चारैतिर समुन्द्रले घेरिएको अष्ट्रेलिया महादेश र यस भित्रको बिशाल देश अष्ट्रेलिया यति बेला बिश्वभरका अन्य देशका युवाहरू जस्तै नेपाली युवा पुस्ताको लागि पनि उच्च शिक्षा अध्ययन र उन्नत भविष्य निर्माणका लागि उच्च छनोटमा परेको छ । पराइ ठाउँ त्यसै पनि गार्हो हुन्छ धेरै कुराहरू असहज हुन्छन्, आफुलाई अभ्यस्त बनाउंँदै लैजानुको बिकल्प छैन, त्यसमा पनि हाम्रो परिवेश हामीले लिएको स्कुल र कलेजको शिक्षाले हामीलाई अग्लो हुन सिकायो होला तर मजबुत हुन सायदै सिकायो ।
पढ्ने जान्नको लागि हो, सहज जीवन जिउनको लागि चाहिने विविध कुरालाई सुसज्जित गराउन हो भन्दा पनि के
पढ्यो कति पढ्यो मै अल्झेको हाम्रो शैक्षिक प्रणालीले हामीलाई संधै प्रयोगात्मक ज्ञान र सकारात्मक सोच खड्की रहयो । त्यसैले सर्टिफिकेटको ठूलै फाइल बोकेर सीमापारि पुगेका नेपाली युबा युवतीहरू पनि आहिलेको प्रतिस्प्रर्धात्मक युगमा अलमल देखिन्छन् भने भर्खर १२ पास गरेर उच्च शिक्षाका लागि बाहिरिन खोज्नेका लागि त त्यसै असहज हुने नै भयो । अर्को तिर सुटकेस गुडाउँदै विमानस्थल पुग्दै गर्दा ठूलै सपना छताछुल्ल बनेर मानसपटल भरि विचरण गरको हुन्छ, जीबन न हो सोचे अनुसार चलेन भने, एक पछि अर्को समस्या तनाब र असफलताले कहिले काँही ति सपनाहरू टुट्न सक्छन् । यसरी सपनाहरू टुट्दै गर्दा केवल तिनका मात्र होइन तिनीहरू संग भावनात्मक रुपमा जोडिएका परिवार र आफन्त धेरैका सपनाहरू संगै टुट्ने खतरा हुन्छन् ।
विद्यार्थीको आकर्षण देश अष्ट्रेलिया
क्षेत्रफलको हिसाबले अष्ट्रेलिया नेपाल भन्दा लगभग ५२ गुणाले ठूलो छ, तै पनि यहाँका धेरै राज्यका हावापानी नेपाल सँग मिल्दो जुल्दो देखिन्छ । अनुकुल मिल्यो भने कमाएरै कलेज र युनिभर्सिटीमा मास्टर तहसम्मको शिक्षा लिन सकिने यस देश आहिले नेपाली विद्यार्थीका लागि निक्कै आकर्षण गन्तब्यको रुपमा बिकशित हुदै आएको छ । त्यसमा पनि भर्खरै अमेरिकामा ट्रंपले राष्ट्रपतिको कार्यभार सम्हाल्दै गर्दा र उनले लिएका नयाँ रणनीतिहरूले धेरै विद्यार्थीहरू अमेरिकामा रिस्क मोल्न नचाहने सम्भावना उत्तिकै छ । त्यसैले पनि अष्ट्रेलियामा अहिले आउँदै गरेको विद्यार्थीको अनुपात निक्कै बढ्न सक्ने धेरैको अनुमान छ ।
अर्को तिर पढाई सकिए पछाडि पनि स्किल माइग्रेसन अन्तर्गत प्रकृया पूरा गरि यतैको स्थाई अनुमति लिन समेत सजिलो हुने हुँदा पनि विद्यार्थीहरूको लागि यो देश झन् प्रथामिकतामा परेको छ । त्यसो भन्दैमा यो त्यति सहज पनि छैन जति कागजमा पढिन्छ । त्यसैले त जब युबा विद्यार्थी भाइबैनीहरू यहाँ आउछन् अनि उनीहरूले आकाश जमिनको फरक पाउँछन् ।त्यो भिन्नतालाई सहजताका साथ लिन नसक्दा या साथीभाइ, अभिभाबक, शैक्षिक परामर्शदाताबाट उचित सरसल्लाहा सुझाब नपाउँदा धेरै नब आगन्तुक विद्यार्थी भाइ बैनीहरू मानसिक बिचलन, विविध खाले डिप्रेसन र नैराश्यताको शिकार हुन पुगेका छन् । यहाँ आइ सकेको विद्यार्थी पनि बिभिन्न कुरामा चित्त बुझाउँदै आफ्नो उद्देश्य र चाहानाको बिषय भन्दा पनि भोलिको लागि सहज हुने या स्थाई अनुमति पाउन सकिने बिषयमा अध्ययन गर्न मनोबैज्ञानिक दबाब आउने हुँदा पनि उनीहरूमा खोइ के गरे के भन्ने सोच आइरहेको देखिन्छ ।
सुरक्षित अष्ट्रेलिया
सामाजिक सुरक्षा र अन्य सुरक्षाका दृष्टिले पनि अष्ट्रेलियालाई विश्वभर कै मानिसले सुरक्षित गन्तब्यको रुपमा लिन्छन् । त्यसमा पनि हामी नेपालीहरू यहाँ त्यसै पनि सुरुक्षित छौं किनकि हाम्रो परिचय इमान्दार, मेहनती र अनुशाशित छ जसले गर्दा नेपालीलाई हेर्ने दृष्टिकोण आँफैमा राम्रो छ । यदा कदा बाहेक नेपालीहरू भौतिक आक्रमणको शिकार बनेको अप्रिय घटनाहरू निक्कै कम सुनिन्छन् । त्यसैले सुरक्षाको बिषयलाई लिएर नब आगन्तुक अथवा यहीं रहेका नेपालीहरू खासै चिन्तित हुनु पर्ने देखिदैन ।
नेपाली समुदायका अप्रिय घटनाहरू र न्यूनीकरणको प्रयास
नेपालीको संख्या यति नै भनेर यकिन भन्न नसके पनि दक्षिण गोलाद्धमा रहेको यो देशमा हाम्रो उपस्थिति निक्कै मजबुत हुँदैछ । यहाँका सार्बजनिक स्थान, यहाँका कलेज अनि युनिभर्सिटीमा भेटिने नेपालीहरूलाई मात्र हेर्ने हो भने पनि हामी यहाँ अब संख्यात्मक रुपले कमजोर छैनौ । ८० को दशकमा अष्ट्रेलियामा रहेका अग्रजहरूको मुखबाट त्यति बेला मुश्किलले भेटिने नेपालीको कुरा सुन्दा कथा जस्तै लाग्छ । बितेको डेढ दशकमा यहाँ आएका नेपालीहरूले राम्रै प्रगति गरेका छन् । जागिरमा अब्बल ठहरिएका छन्, राम्रो ब्यापार गरेका छन् । जसै हाम्रो संख्या बढ्यो बिभिन्न खाले दुखद घटनाहरू घट्ने र बढ्ने क्रम बढी नै रहेका छन् । सञ्चो हुन नसक्ने रोग, दूर्घटनाहरू हुदै आत्महत्याका कारण पनि विविध अप्रिय घटनाहरू घटेका छन् । त्यसको अलाबा चारै तिर समुन्द्रले घेरिएको देश अष्ट्रेलियामा भू–परेबिष्ठित देशबाट आएका हामी नेपालीहरू र हाम्रा युवा विद्यार्थीहरू लाई यहाँको पानी अफाप सिद्ध नै भइ सकेको छ । गत २ बर्षमा मात्र छ जना होनाहार नेपालीहरूले यहाँको समुन्द्रमा अकाल मै ज्यान गुमाउनु पर्यो । जुन केहि सजगता अपनाएको भए टर्न सक्थ्यो भन्ने आहिले सबैको मन मस्तिष्कमा छ ।







