वासिङटन । अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले जनाउ दिएका छन् ।वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा उनले सो जानकारी दिनुको समाचारमा जनाइएको छ ।
अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिएका जनाइएको छ ।यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन । अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उहाँको आफ्नै हो या त्यसमा राष्ट्रपति टिलरसनको सहमति पनि छ भन्ने बारेमा पनि केही बताइएको छैन ।
विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग गरिने वार्ताका लागि मार्गचित्र निर्धारण गर्ने र विना शर्त जुनसुकै विषयमा छलफल गर्न सकिने उहाँले बताएका छन्। एकजना अमेरिकी ह्वाइट हाउसका अधिकारीको भने उत्तर कोरियाको आणविक कार्यक्रम तथा समग्र उत्तर कोरियाली नीतिका बारेमा भने राष्ट्रपति ट्रम्पको हालको धारणामा कुनै परिवर्तन नआएको जानकारी आएको छ ।
अमेरिकाले उत्तर कोरियासँग वार्तागर्ने भनी आएको यो नै पहिलो अभिव्यक्ति हो । विगतमा यसरी अमेरिकाले वार्ताका सम्भावित शर्तहरुको बारेमा केही कुरा राखेको थिएन । तर परमाणु अस्त्रको बारेमा उत्तर कोरियाको कार्यक्रम भने अमेरिकाले नस्वीकार्ने विदेशमन्त्री टिलरसनले प्रष्ट पार्नुभएको छ । यसअघि अमेरिकाले केही समयमात्र अघि वार्ताका लागि उत्तर कोरिया निशस्त्र हुनुपर्ने भन्दै आएको थियो । तर यो पछिल्लो अमेरिकी धारणामा परिवर्तन आएको देखिन्छ । यस पटक भने उनले अमेरिका विनाशर्त नै उत्तर कोरियासँग वार्तामा बस्ने जनाएको हो ।
उत्तर कोरियाविरुद्ध अमेरिका, जापान र दक्षिण कोरिया एकै ठाउमा
हालैमात्र निकै लामो समयपछि संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीबाट उत्तर कोरियाको भ्रमण भएको थियो । सो भेटबाट दुवै पक्षबीच विश्वासमा वृद्धिगर्न सफलता मिलेको उत्तर कोरियाले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला हेर्ने उपमहासचि जेफ्रे फेल्टम्यानले राष्ट्रसंघको यति उच्च तहको अधिकारीबाट सन् २०१० पनि पहिलोपटक उत्तर कोरियाको यो भ्रमण गरेको बताइएको छ । उपमहासचिव जेफ्रे फेल्टम्यानसहितका राष्ट्रसङ्घीय केही उच्च पदाधिकारीले यही डिसेम्बर ५ देखि ९ सम्म प्योङ्याङको भ्रमण गरेका थिए ।
सो भ्रमणका क्रममा उनीहरूले उत्तर कोरियाका विदेशमन्त्री, उपविदेशमन्त्री, विदेश मन्त्रालयका अन्य विशिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । सो भेटमा भएका द्विपक्षीय वार्ताहरुमा कोरियाली प्रायद्वीपको सङ्कटका बिषयमा छलफल भएको र उक्त समस्याको शान्तिपूर्ण समाधानका लागि अधिकारीहरुले जोड दिएका पनि प्राप्त समाचारमा जनाइएको छ ।
उता कोरियाली प्रायद्वीपमा अमेरिका, दक्षिण कोरिया र जापानले हालैमात्र सामुद्रिक सैन्य अभ्यास गरेका बताइएको थियो । त्रिपक्षीय रुपमा गरिएको सो अभ्यास खासगरी उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका विरुद्धमा लक्षित थियो ।
विशेषगरी कोरियाली प्रायद्वीपमा हुनसक्ने सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्रको रोकावटका लागि गरिने उपायहरुका बारेमा त्यस अभ्यासका क्रममा एक संयन्त्रको स्थापना गरी प्रयास गरिएको बताइएको छ । उत्तर कोरियाका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले दुई महिनामात्र अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेका थिए । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गर्दै आएको छ । जापान, दक्षिण कोरिया र अमेरिकासँग उत्तर कोरियाको सम्बन्ध बिग्रिएको छ । उत्तर कोरियाले गर्ने गरेका क्षेप्यास्त्रहरुको परीक्षणमा उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई लक्ष्य गरेको भन्ने गर्दछ । उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्काका विरुद्धमा निकै कडा अभिव्यक्ति दिइआएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको केही समय मात्र अघि भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति टम्पले उत्तर कोरियाको निकै नै आलोचना गरेका थिए ।








