भदौं २२, काठमाडौं । चीनबाट भारतका लागि तस्करी गर्न लागिएको ४३ करोड नेपाली मूल्य बराबरको ८८ किलो सुन सुराकीका आधारमा पक्राउ गरेको प्रहरीले त्यसको कमिशन रकम बाँड्न प्रहरी अधिकारीका आफन्तका फर्जी नामसहितको प्रतिवेदन तयार पारेको स्रोतले दाबी गरेको छ ।
कम्तिमा ४ करोड ३० लाख कमिशन रकम तस्करीको जानकारी दिनेले पाउने कानुनी प्रावधान रहेको छ । तर, उक्त रकमका विषयमा प्रहरी अधिकारीहरूले मनलाग्दी ढङ्गले प्रतिवेदन तयार पारेका एक अधिकारीकले बताए ।
प्रहरीले रसुवाको केरूङदेखि नै पछ्याएको प्रतिवेदनमा उल्लेख गरेपनि सुनबारेको जानकारी काठमाडौंको ठमेलका एकजना होटल कर्मचारीले दिएका थिए । स्रोतका अनुसार प्रहरीले तयार पारेको प्रतिवेदनमा प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दको विशेष चासो रहेको छ ।
भागवन्डामा तलमाथि हुनसक्ने देखेपछि चन्द पछि लागेका थिए । उनले सुन पक्राउ गरेको सूचना पाउनासाथ महानगरीय प्रहरी परिसर टेकु छाडेका थिएनन् । सुन पक्राउ गरेको जस बाहिर देखाएपनि भित्र कमिशनमा उनका आफन्तको नाम राख्नका लागि तिव्र दबाब परेको स्रोतले जनाएको छ ।
सोमबार विहानको राती पक्राउ गरिएको सुन र सुनको गाडी टेकुमा राखिएको थियो । अन्य काम छाडेर भएपनि चन्दले उक्त प्रकरणमा आफ्नो नेतृत्व देखाउने र कमिशन प्रतिवेदनमा दबाब दिने उद्देश्यले सोमबार र मंगलबार टेकु नछाडेको स्रोतको दाबी छ ।
उक्त रकम बाँडफाँटको आन्तरिक दबाबअनुसार प्रहरी प्रमुख प्रकाश अर्यालयका आफन्त, चन्दका आफन्त र प्रहरी अपराध महाशाखाका एसएसपी दिवेश लोहनी र एसपी नरेन्द्र उप्रेतीका भागमा पनि उक्त कमिशन रकम बाँडफाँट हुनेगरि प्रतिवेदन तयार पारिएको स्रोतको दाबी छ । उप्रेतीले तयार पारेको प्रतिवेदनमा प्रहरी अधिकारीका आफन्त र सहयोगीको नाम नपरेपछि पुनः एसएसपी लोहनीले प्रतिवेदन तयार पारेका थिए ।
सुनबारे जानकारी दिनेलाई भने प्रहरीले सामान्य रकम दिने र त्यसो गरेको नपाइए सोही प्रकरणमा मुछ्ने चेतावनी समेत दिइएको छ । ८८ केजी सुनसँग जोडिएका थप दुई जनालाई पक्राउ गरेपछि कमिशनको पाटोलाई ढाकछोप गर्दै प्रहरी अधिकारी अघि बढेका छन् । सुन तस्करीका लागि प्रयोग भएको टाटा स्ट्रोम गाडीलाई रसुवाबाट केरूङ लैजाने र केरूङबाट रसुवा हुँदै काठमाडौं ल्याउने चालक पक्राउ गरेको बताइएको छ । दाम्पा तामाङ र दिलीप खड्कालाई पक्राउ गरिएको छ । बरामद बा१७च ६४२७ नम्बरको गाडी सिप्रदी ट्रेडिङमा चालक श्याम महर्जनका नाममा दर्ता रहेको छ ।
सुनका मालिक ठमेलमा रेष्टुरेन्ट चलाउने चिनियाँ दम्पत्ती याङ वेन विङ र उनका पति पान विई मिङ हुन् । उनीहरूले भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन पक्राउ गरिएको थियो ।
गाडीको विभिन्न पार्टपुर्जामा कालो टेपले बेरेर लुकाइएका एक केजी दरका ८८ थान सुनका बिस्कुट बरामद भएको थियो । विनोद ढकाल(साझा पोष्ट)







