
भदौ १९, काठमाडौं । निर्वाचन आयोगले प्रदेश नं. २ को निर्वाचनको तयारी अन्तिम चरणमा पुर्याएको छ । असोज २ मा हुने निर्वाचनका लागि कर्मचारीसँगै मतपत्र पनि मतदान केन्द्रमा पुगिसकेको आयोगले जनाएको छ । यस निर्वाचनका लागि आयोगले ३० लाख मतपत्र छपाइ गरेको छ ।
एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका गरी १३६ स्थानका लागि हुने निर्वाचनबाट ६ हजार प्रतिनिधि छानिँदै छन् । प्रदेश नं. २ का आठ जिल्लामा हुने निर्वाचनमा २६ लाख, ६४ हजार ९५० मतदाता सहभागी हुँदै छन् । निर्वाचन तालिकाअनुसार भदौ २१ गते उम्मेदवारको मनोयन गर्ने कार्यक्रम छ ।
प्रदेश नं २ मा ४५ दल सहभागी हुँदै छन् । ६८ लहरको लामो मतपत्र प्रयोग गरिने भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उम्मेदवारको मनोनयन हुने दिन जम्मा तीन दिन बाँकी रहँदा प्रमुख दलहरू उम्मेदवार छान्ने चटारोमा छन् । प्रदेश नं. २ को निर्वाचनलाई मुख्य दलहरूले आफ्नो प्रतिष्ठाको लडाइँ बनाएकाले सबैको ध्यान खिच्न पुगेको छ ।
आचारसंहितामा चनाखो
प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन स्थानीय तह आचारसंहिता ०७३ लाई कडाइ गरेको आयोगले जनाएको छ ।
सार्वजनिक पदमा रहेकाहरूले निर्वाचनको समयमा पदीय दुरुपयोग रोक्न तथा निर्वाचनलाई स्वच्छ र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनको मिति घोषणासँगै आयोगले आचारसंहिता लागू गर्ने गरेको छ । निर्वाचन आचारसंहिताको पालनाका सम्पूर्ण पक्षको उच्चस्तरीय अनुगमन गर्न आयोगका चारजना आयुक्त तराई झरेका छन् ।
आयोगले उच्चस्तरीय अनुगमन गर्न आयुक्त इला शर्मा धनुषा र महोत्तरीमा, नरेन्द्र दाहाल रौतहट र सर्लाहीमा ईश्वरीप्रसाद पौड्याल पर्सा र बारामा, सुधीरकुमार शाह सप्तरी र सिरहाका लागि खटाएको हो ।
त्यस्तै, सूक्ष्म अनुगमनकर्ता पनि खटाउने भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा आयोगले उच्च नेताहरूलाई समेत स्पष्टीकरण सोधेको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई आयोगले पत्र काट्यो । नेता नेपालले निर्वाचनका सिलसिलामा केही त्रुटि भएको तर आचारसंहिता पालनामा पार्टी आफू पनि प्रतिबद्घ रहेको आयोगलाई शुक्रबार स्पष्टीकरण बुझाएका छन् ।
त्यस्तै, माओवादीका स्थानीय नेता मनोज गुप्तालाई आयोगले स्पष्टीकरण सोधेको छ । उम्मेदवारले गरेका निर्वाचन खर्चबारे पनि विशेष ध्यान दिएको दाबी आयोगको छ । अाजको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।








